स्याङजामा दैनिक दुई लाख अण्डा उत्पादन, केके एग्रो ग्रुपले देशका विभिन्न ठाँउमा अर्वौ लगानी गर्दै ।

प्रकाश डोटेल/स्याङजा

खिलुङ कालिका (केके) एग्रो गु्रपले देशका विभिन्न ठाँउमा कृषि तथा यस सम्वन्धी गतिविधी सञ्चालनको लागि तयारी तिव्र पारेको छ । गु्रपले स्याङजाका साथै धनुषा र कैलालीमा गरी अर्वौंको लगानी गर्न लागेको हो ।


ग्रुपले देशभरवाट दैनिक १० लाख अण्डा उत्पादन गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुशार गतिविधी तिव्र पारिएको गु्रपले जनाएको छ ।
ग्रुपले स्याङ्जाको भीरकोट नगरपालिका ७ स्थित हेलुमा सञ्चालनमा ल्याएको फार्मवाट दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ । फार्मले ब्याट्री केज (जर्मन प्रबिधि) मा अण्डा उत्पादन गर्दै आएको हो । ५०/५० हजार क्षमताका ४ वटा वातावरणीय अनूकुलन (ईन्भाईरमेन्ट कन्ट्रोल—ईसि हाउस) बाट अण्डा उत्पादन हुदै आएको छ । उत्पादन क्षमता बढाउन फार्मले थप एक ईसि हाउस निर्माण गर्न थालेको छ । फार्मबाट उत्पादीत अण्डा गण्डकी र ५ नंम्बर प्रदेशलाई आधार बनाएर बजारीकरण गरिएको छ । सोहि फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्न थालेपछि स्याङ्जा अण्डामा आत्मनिर्भर बनेको छ ।

झण्डै ५० रोपनी जग्गामा ७० करोडको लागतमा फार्म निर्माण गरिएको फार्मका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले जानकारी दिनुभयो । उहाँले विषेशगरी लेयर्स प्रजातिको कुखुराबाट अण्डा उत्पादन गर्ने फार्म नेपालकै ठूलो भएको दावी गर्नु भयो । फार्ममा अत्याधुनिक प्रविधिको प्रयोग गरेर अण्डा उत्पादन गरिएको ढकालले जानकारी दिनभयो ।

फार्मले प्रत्यक्ष ८० र अप्रत्यक्ष सयौ कामदार र व्यवसायीक पसललाई रोजगारी दिएको छ । स्याङ्जामा उत्पादीत अण्डा स्थानीय बजार, पोखरा, पर्वत, बागलुङ्, म्याग्दी, मनाङ्, मुस्ताङ्, पाल्पा, गुल्मी र अर्घाखाँचीमा निकासी हुदै आएको फार्मले जनाएको छ ।

पछिल्लो समय कुखुरा पालनमा आवश्यक ज्ञानसिप अभाबमा जथाभावि लगानी गर्दा अण्डाको बजारीकरणमा समस्या देखिएको फार्मले जनाएको छ । व्यवसायीक फार्महरु निर्माण हुन नसक्दा उत्पादीत अण्डाको बजारीकरणमा अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भएको छ । फार्मका अनुसार आवश्यक ज्ञानसिप आर्जन गरेर लगानी गर्ने हो भने आम्दानीमा समेत बढवा आउने थियो ।

वायोग्यास प्लान्ट


केके एग्रो ग्रुपले अण्डाका अलवा फार्मबाट निकासी हुने कच्चा पदार्थ (सुली) र स्थानीय स्तरमा संकलित कच्चा पदार्थ (गाई, भैसीको गोबर) मिलाएर स्याङ्जाकै पुतलीबजार नगरपालिका ४ नागडाँडामा बायोग्यास प्लान्ट समेत संचालनमा ल्याएको छ । झण्डै २० रोपनी जग्गामा करिब ३० करोडको लागतमा प्लान्ट संचालनमा आएको हो ।

३ हजार ५ सय १० घनमिटरको बायोग्यास पावर प्लान्टबाट दैनिक ३ सय ५० किलोवाट क्षमताको विद्युत, खान पकाउन प्रयोग हुने ग्यास र नेपालको कृषि नीतिले तोकेको मापदण्ड अनुसार १२ टन अर्गानिक धुले र दाना गरि दुई किसिमका मल उत्पादन गर्दै आएको छ । “प्लान्टमा उत्पादीत विद्युतलाई आन्तरिक रुपमै खपत गरिएको छ ।” फार्मका प्रमुख कार्यकारी अधिकृत राजेश ढकालले भन्नुभयो, “ग्यासलाई बोटलिङ् गर्न लागिएको छ भने मललाई स्थानीय बजारमा बिक्री गर्ने तयारी गरिएको छ ।” उत्पादीत मलको बजारीकरणमा समस्या रहेको उहाँले वताउनु भयो ।

नेपालमा वर्षेनी करोडौंको रासानिक मल आयात हुँदा समेत कृषकले मल नपाउने गरेकोे अवस्था रहेको अधिकृत ढकालले बताउनु भयो । अर्गानिक मल उत्पादकको लगानी सुनिश्चित गर्न र प्रयोग बढाउने तर्फ सरकारले चासो देखाउन उहाँले आग्रह गर्नुभयो ।

धनुषामा दैनिक ५ लाख अण्डा उत्पादन गर्ने लक्ष्य :
केके एग्रो ग्रुपले पूर्वका प्रदेश नं. १, २ र ३ लाई लक्षित गरि धनुषामा २ अर्बको लगानीमा दैनिक ५ लाख अण्डा उत्पादन गर्ने फार्म निर्माण गर्न लागेको छ । फार्म स्थापना गर्न १ सय ५६ रोपनी जग्गा खरिद गरेर निर्माणको प्रक्रिया अगाडी बढाएको निर्देशक ढकालले जानकारी दिनुभयो । निर्माणको तयारी गरिएका फार्ममा जर्मनी, चाईनिज र कोरियन प्रविधिको प्रयोग गरिने उहाँले बताउनुभयो ।

कैलालीमा ३ लाख अण्डा उत्पादन गर्ने लक्ष्य :
ग्रुप अन्र्तगत पश्चिमका प्रदेश नं. ६ र कर्णाली प्रदेशलाई आधार बनाएर कैलालीमा ३ लाख अण्डा उत्पादन गर्ने फार्म निर्माण गर्न आन्तरिक तयारी तिव्र पारिएको छ । ग्रुपले लेयर्स कुखुराको अण्डा उत्पादन गर्न २ वर्ष भित्र झण्डै ५ अर्ब लगानी गर्ने योजना अगाडि सारेको छ ।

कुखुराको दाना उद्योग :
ग्रुपले स्याङ्जाको गल्याङ् नगरपालिका १ स्थित राम्दीमा दैनिक ४ सय मेट्रिकटन खुकुरालाई खुवाउने दाना उद्योग स्थापना गर्ने तयारी गरेको थियो । २ वर्षदेखि शुरु गरिएको तयारी स्थानीय सरकार र सरकारको अव्यवस्थित औद्योगिक नीति नियमका कारण उद्योग स्थापना हुन सकेको छैन् । स्थानीय सकारको आवश्यक सहयोग र उद्योग मन्त्रालयले चासो दिएमा एक वर्षमै उद्योग संचालनमा ल्याउन सकिने एग्रो ग्रुपले जनाएको छ ।

space-for-advertisement
Facebook Comments Box
TOP