स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक, जेठ १५ गते विज्ञापन हुने

काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी विशेष कार्य तालिका सार्वजनिक गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले कार्य तालिका सार्वजनिक गर्दै विज्ञापन/सूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिस मितिसमेत तोकेको छ ।

कार्यतालिकाअनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ।

आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार नवौं तहका अप्राविधिक/प्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि लिइने परीक्षाको लिखित परीक्षा आगामी भदौमा हुनेछ भने नतिजा प्रकाशन असोजमा हुनेछ । यसैगरी, अन्तर्वार्ता र सिफारिस कात्तिकमा गरिनेछ।

छैटौँ तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा भदौ/असोजमा हुनेछ भने असोज/कात्तिकमा नतिजा प्रकाशन भई कार्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिनेछ।

त्यसै गरी छैटौँ तहका प्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ/असोज मा हुनेछ भने कात्तिकमा नतिजा प्रकाशन तथा कात्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस हुनेछ ।

पाँचौँ तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन गरी साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ/असोजमा हुनेछ । असोज/कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै पाँचौँ तहका प्राविधिक पदको लिखित परीक्षा साउन/भदौमा सञ्चालन हुनेछ । भदौमै नतिजा प्रकाशन गरी भदौ/असोजमा अन्तर्वार्ता र सिफारिस गरिनेछ । चौथो तहतर्फका अप्राविधिक पदहरूको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ/असोजमा हुनेछ ।

असोज/कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

त्यसै गरी, प्राविधिक पदको लिखित परीक्षा साउन/भदौमा सञ्चालन हुनेछ । भदौमा नतिजा प्रकाशन हुने तथा भदौ/असोजमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगले जानकारी गराएको छ । -प्रशासन अनलाईनबाट

Facebook Comments Box
TOP