राजश्व तथा अन्तःशुल्क व्यवस्थित गर्न वालिङ बजारको अनुगमन गरियो ।

तोलाकान्त बगाले / वालिङ :
वालिङमा मंगलबार राजश्व तथा अन्तःशुल्क सम्बन्धी बजार अनुगमन एवं निरीक्षण गरिएको छ । राजश्व तथा अन्तःशुल्क सम्बन्धी बजार अनुगमन तथा निरीक्षण समितिको गत चैत २१ गतेको निर्णय अनुसार आयकर ऐन २०५८, अन्तःशुल्क ऐन २०५८ र मदिरा ऐन २०३१ बमोजिम स्याङ्जा जिल्लास्थित उद्योग, ब्यापार तथा ब्यवसायको बजार अनुगमन तथा निरीक्षण गरिएको हो ।

निरीक्षणका क्रममा अन्तःशुल्क निर्देशिका २०६८ ले गरेको ब्यवस्था बमोजिम बजार अनुगमन तथा अवैध मदिरा नियन्त्रण टोलीबाट विशेष गरी राजश्वको दायरामा नआएका उद्योगी, ब्यापारी, ब्यवसायीलाई करको दायरामा आउन आग्रह गरिएको बजार अनुगमन तथा निरीक्षण टोलीका संयोजक अनन्त मरासिनीले बताउनु भयो ।

“विशेष गरी ब्यवसायीहरुलाई करको दायरामा लाई राजश्व संकलनमा बृद्धि गर्ने र अवैधरुपमा बिक्री वितरण हुँदै आएको मदिरालाई कानूनतः नियन्त्रणमा लिने उद्धेश्यले बजार अनुगमन तथा निरीक्षण गरिएको टोली संयोजक मरासिनीले बताउनुभयो ।

टोलीले स्याङ्जा सदरमुकाम, वालिङ, भीरकोट, गल्याङ र चापाकोट नगरपालिकाका विभिन्न पसलहरु अनुगमनलाई जारी राखेको छ ।

निरीक्षणका क्रममा फर्म दर्ता नगरी सञ्चालन गरेको, पान प्रमाणपत्र नलिई ब्यापार ब्यवसाय गरेकाहरुलाई १५ दिनभित्र आवश्यक प्रमाण पेश गरी ब्यापार ब्यवसाय सञ्चालन गर्न निर्देशन दिईएको टोली संयोजक मरासिनीले बताउनु भयो । अनुगमनका क्रममा कमजोरी देखिएका ब्यवसायीहरुलाई आवश्यक प्रक्रिया पूरा गर्न सुझाव दिईएको छ ।

Facebook Comments Box
TOP