स्याङ्जाका सरकारी कर्मचारीहरुद्धारा रक्सी, चुरोट र सुर्ती नखाने प्रतिबद्धता ।

आँधीखोला खवर :
जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुले रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता जनाएका छन । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उनीहरूलाई सेवन गर्नेछैन भन्ने ५ प्रतिबद्धताको शपथ खुवाउनु भएको हो ।
शपथमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पुतलीबजार नगरपालिका, स्थानीय तहका स्वास्थ्य प्रमुख, अस्पतालका प्रमुख तथा चिकित्सक, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
धूमपान र मध्यपान नगर्न सहभागीलाई शपथ खुवाउँदै प्रजिअ निरौलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको मेरो वर्षु पुस्तिकामा म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न भन्ने शपथ रहेको जानकारी गराउनु भयो । म नियमित व्यायाम गर्छु, स्वस्थ र पोसिलो खाना खान्छु, नियमित स्वास्थ्य परीक्षण गराउँछु र मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने शपथमा छ । निरौलाले सबै वाक्य पढेर सहभागीलाई शपथ खुवाउनु भएको थियो । हामीले आजदेखि रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएका छौं, उहाँले भन्नुभयो यो एक प्रकारको कसम हो । कार्यालयमा मात्र होइन, घरमा पनि लागू गर्नुस् ।
आफू स्वस्थ रहन प्रतिबद्धता र आफ्नो प्रतिबद्धतामा कार्यान्वयनको खाँचो रहेको उहाँको भनाइ छ । जेठ ३ रक्तचाप दिवसका अवसरमा आयोजित कार्यक्रममा नसर्ने रोगका बारेमा जानकारी गराइएको थियो । धूमपानका र मध्यपानका कारण कस्ताकस्ता रोग लाग्छन् भन्ने विषयमा स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी गराउनु भयो । शर्माले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाएमा जीवनशैली सुधार भई मधुमेह, मुटुरोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगजस्ता नसर्ने रोगको जोखिम कम हुने बताउनु भयो ।
पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद मल्लले ५ प्रतिबद्धताको पालना आफूले मात्रै नगरी कार्यालय, परिवारमा पनि लागू गर्नुपर्ने बताउनु भयो । म, मेरो कार्यालय र परिवारमा सकेसम्म लागू गर्छु उहाँले भन्नुभयो । जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले आफूले धूमपान र मध्यपान केही नगर्ने बताउँदै प्रहरी कर्मचारीलाई पनि यसतर्फ प्रतिबद्धता गराउने बताउनु भयो  ।

स्वास्थ्य प्रमुख शर्माले मेरो वर्ष म स्वास्थ्य, मेरो देश स्वस्थ्य अभियान ०७५र७६ लाई कार्यान्वन गर्नको लागी जिल्लाभर अभियान थालिने जानकारी दिनुभयो । जिल्लामा मुटुरोगी र क्यान्सरका रोगी बढी रहेको उहाँले बताउनु भयो । जिल्लाले एकलाख रुपैयाँ पाउने बिरामीलाई दिएको सिफारिसअनुसार मुटुरोगी र क्यान्सरका २ सय ७५ जना रहेको शर्माले बताउनु भयो । उहाँले ६० प्रतिशतो मृत्यु नसर्ने रोगबाट हुने गरेको बताउनु भयो ।

उहाँका अनुसार यस्ता रोगीको संख्या बढ्दो छ । नेपालको कुल जनसंख्याको ३ प्रतिशत शारीरिक रूपमा पूर्ण निष्क्रिय रहेको बताउदै शर्माले ५३ प्रतिशत सिफारिस अनुसार गर्नुपर्ने शारीरिक व्यायाम नगर्ने र सहरी क्षेत्रमा बसोबास गर्नेहरू यसतर्फ निष्क्रय रहेको तथ्यांक सार्वजनिक गर्नु भयो । चुरोट सेवनका कारण १० प्रतिशत मानिसको मृत्यु भइरहेको उहाँले बताउनु भयो ।
कान्तिपुर दैनिकबाट

Facebook Comments Box
TOP