सिरी ‘ए’ : टोरिनोविरुद्ध भिड्दै युभेन्टस, गोल संख्या बढाउने दाउमा रोनाल्डो

ronaldo

स्यांग्जा
इटालियन लिग सिरी ‘ए’को च्याम्पियन टोली युभेन्टसले आज आफ्नो ३५औं खेल खेल्दैछ । जारी लिगको ३५औं साताअन्तर्गतको खेलमा युभेन्टसले आज टोरिनोविरुद्ध खेल्न लागेको हो ।

युभेन्टसले यसअघि नै जारी सिजनको उपाधि आफ्नो बनाइसकेको छ । उसले ३३औं साताको खेलमा फियोरेन्टिनालाई हराउँदै उपाधि जितिसकेको छ ।

विजेता टोली युभेन्टसले नेपाली समयअनुसार राति १२ः१५ बजे आफ्नै मैदानमा टोरिनोलाई निम्त्याउँदै छ । आजको खेलमा युभेन्टस आफ्नो फराकिलो अग्रतालाई कायमै राख्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । अहिले युभेन्टस दोस्रो स्थानको नापोलीभन्दा १८ अंकले अगाडि छ । समान खेल खेलेको नापोलीसँग ७० अंक छ ।

यस्तै युभेन्टस अब बाँकी रहेका सबै खेल जितेर १०० अंक बनाउन चाहान्छ । त्यसका लागि उसले बाँकी ४ वटै खेलमा शतप्रतिशत जित निकाल्नुपर्छ । यो सिजन युभेन्टस उच्च लयमा रहेको युभेन्टसले ३४ खेलमध्ये २८ खेलमा जित, ४ खेलमा बराबरी र २ खेलमा हार ब्यहोर्दै ८८ अंक बनाएको छ ।

युभेन्टस शीर्ष स्थानको टोली हो भने आज उसँग भिड्न लागेको टोरिनो सातौं स्थानको टोली हो । युभेन्टससँग आमने–सामने हुन लागेको टोरिनोले भने समान खेलबाट ५६ अंक बनाएको छ । आजको खेलमा ऊ युभेन्टसलाई हराउँदै अंक तालिकामा सुधार गर्ने लक्ष्य लिएको छ ।

आजको खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आफ्नो गोलसंख्या बढाउने दाउमा छन् । जारी सिजन रोनाल्डोले लिगमा २८ खेलबाट २० गोल गरेका छन् । यस्तै उनले १० गोलका लागि असिस्टसमेत गरेका छन् ।

यस्तै उनी अब बाँकी रहेका चार खेलमा गोल गर्दै सर्वाधिक गोलकर्ता बन्ने दाउमा छन् । अहिले सिरी ‘ए’मा साम्पडोरियाका फावियो क्लाग्लिएरिल्ला सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन् । उनी रोनाल्डोभन्दा ३ गोलले अगाडि छन् । उनले ३३ खेलबाट २३ गोल गरेका छन् भने ८ गोलका लागि असिस्टसमेत गरेका छन् ।

रोनाल्डोले सबैखाले प्रतियोगितामा यो सिजन ४० खेलबाट २७ गोल गरेका छन् । यस्तै यो सिजन उनले सबैखाले प्रतियोगितामा १२ गोलका लागि असिस्ट गरेका छन् ।

युभेन्टसका प्रशिक्षक मासिमिलियानो अलेग्रीले रोनाल्डोसहित चेइलिनी, किन, बर्नान्डेस्ची, माटुइडी, इम्रे क्यान जस्ता खेलाडीलाई प्रारम्भिक टोलीमा राखेको छ ।

Facebook Comments Box
TOP