‘साङ्लो’ को कथा सुनेर रोएकी थिएँ : निकिता


मिस नेपालको उपाधि जितेका सुन्दरीहरुको नेपाली फिल्ममा प्रवेश दिन-प्रतिदिन बढ्दो छ । एकाधबाहेक सबैजसो मिस नेपालले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइसकेका छन् । पहिलो मिस नेपाल रुवी राणादेखि सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठसम्म नेपाली फिल्म क्षेत्रमा सुन्दरी अभिनेत्रीको रुपमा परिचित छन् । नेपाली फिल्ममा मिस नेपालको ताज पहिरिएका सुन्दरीहरुको प्रवेश बाक्लिँदै गइरहेको अवस्थामा फेरि एक नाम थपिएको छ- निकिता चाण्डक ।
उनी सन् २०१७ की मिस नेपाल हुन् । मिस नेपालको कार्यकाल सकिएको केही दिनमा नै उनले अभिनेत्री वर्षा सिवाकोटीले हात झिकेको फिल्म ‘रानी महल’ साइन गरेकी थिइन् । डेब्यू फिल्मलाई लिएर उनी निकै उत्साहित थिइन् । तर, यो फिल्मको छायांकन आधा पनि पूरा नहुँदै निर्देशक र निर्माता बीचको लफडाका कारण रोकिएको अझै सुरु हुन सकेको छैन । लामो समय छायांकन रोकिएपछि उनले यो फिल्मबाट हात झिकेको घोषणा गरिसकेकी छन् । डेब्यू फिल्म आधा अधुरैमा अड्किएपछि निकिताको फिल्म करिअर सुरु नहुँदै अन्योलतातर्फ धकेलिएको फिल्मवृतमा चर्चा सुरु भएको थियो । तर, भाग्यमानी निकितालाई दोस्रो फिल्म हात पर्न धेरै समय लागेन । यही बैशाख २४ गतेबाट छायांकन सुरु हुन लागेको एक्सन स्टार विराज भट्टको अभिनय, निर्माण र निर्देशन रहने फिल्म ‘साङ्लो’ की उनी लिड हिरोइन हुन् । उनको अपोजिटमा विराज हुनेछन् । अहिले उनी यसलाई नै आफ्नो डेब्यू फिल्म मान्छिन् । यो फिल्मको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । कार्यक्रममा निकिता पनि उपस्थिति भएकी थिइन् । नेपालीभन्दा अंग्रेजी भाषा बोल्न सहज मान्ने उनले फिल्म ‘रानी महल’ छाडेपछि अभिनय सिकेर मात्र फिल्म गर्ने सोच आफूले बनाएको भएता पनि ‘साङ्लो’ को स्क्रिप्ट मनपरेपछि छाड्न नसकेको बताइन् । यो फिल्मको अफर हुँदा उनी गर्ने मनस्थितिमा थिइनन् । उनले विराजलाई फिल्म नगर्ने निर्णय समेत सुनाएकी थिइन् । फिल्मको घोषणा सभामा उनले भनिन्, ‘एकदिन मलाई उहाँ (विराज भट्ट) ले फिल्मको विषयमा कुरा गर्न बोलाउनु भएको थियो । मैले तत्काल फिल्म नगर्ने निर्णय सुनाउँछु भनेर नै भेट्न पुगेको थिएँ । तर, जब उहाँले मलाई फाइनल स्क्रिप्ट सुनाउनुभयो तब मेरो निर्णय नै परिवर्तन भयो । विराज दाईले स्क्रिप्ट पूरा सुनाइसक्दा त म रोएकी थिएँ ।’ आफ्नो भूमिका र स्टोरी लाइन मनपरेपछि फिल्म गर्न राजी भएको उनको भनाई छ । उनी आफ्नो भूमिकाको बारेमा भने बोल्न चाहिनन् ।
अभिनेता विराज कथाको माग नै निकिता भएको बताउँछन् । निकिताले आफूले अभिनय नसिकेको भएता पनि आफ्नोतर्फबाट उत्कृष्ट दिन कुनै कसर नछाड्ने बताइन् । उनी फिल्म ‘साङ्लो’ लाई लिएर निकै उत्साहित देखिएकी छन् । यसले आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्नेमा उनी विश्वस्त छिन् । तर, मिस नेपालका लागि नेपाली फिल्म क्षेत्र खासै फलिफाप बन्न सकेको छैन । निकिता अपवाद सक्लिन् वा नसक्लिन् ? प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…