विराजलाई ‘खल-नायक २’ खेल्ने इच्छा

Biraj Bhatt

एक्सन स्टार विराज भट्ट पुनः नेपाली फिल्ममा आफ्नो पुरानो लोभलाग्दो क्रेज फर्काउने प्रयत्नमा छन् । एक समय उनको टाउको पोस्टरमा राखेको भरमा फिल्म हेर्न सिनेमा घरमा दर्शकको थामिनसक्नु भीड लाग्थ्यो । नेपाली फिल्ममा आफ्नो बलियो पकड रहेको बेला उनले एकसेएक सुपरहिट फिल्म दिएका थिए । तर, खोलाको पानी सधैं एकनास कहाँ बग्छ र । विराजको करिअरमा पनि उचारचढाव आए ।  नेपाली फिल्ममा आफ्नो डिमाण्ड घट्न थालेपछि उनी भोजपुरी फिल्मतिर सोझिए । उनलाई त्यहाँ आफूलाई स्थापित गर्न धेरै समय लागेन । छोटो समयमै उनी लोभलाग्दो रुपमा सफलताको सिढी उक्लिए । नेपालमा एक्सन हिरोको रुपमा आफूलाई स्थापित गरेका उनले भोजपुरी मार्केटमा पनि आफ्नो यही पहिचान बनाए । उनले नेपालमा झैँ भोजपुरी फिल्ममा पनि एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरे ।  ३ दर्जन बढी ब्लकबस्टर फिल्म दिएर भोजपुरी मार्केटमा आफूलाई बक्सअफिसको अग्लो मान्छे प्रमाणित गरेका विराजले केही महिनायता भोजपुरी फिल्म गरेका छैनन् । यद्यपि, उनी अभिनीत केही फिल्म भने प्रदर्शन हुन बाँकी छन् । भोजपुरी फिल्म हातमा नटुट्दा ५ वर्षसम्म नेपाली फिल्मबाट टाढा रहेका उनी केही महिनायता नेपालमा छन् । यसको कारण उनको भोजपुरी मार्केट खस्किनुलाई मानिएको छ ।  तर, उनी भोजपुरी फिल्ममा आफ्नो क्रेज अझै उस्तै रहेको बताउँछन् । पहिलो पटक आफूले निर्माण र निर्देशन गर्न लागेको फिल्म ‘साङ्लो’ को घोषणा सभामा उनले नेपालीसँगै आफूलाई माया गर्ने दर्शक भोजपुरीमा पनि कम नभएको बताए । उनी भन्छन्, ‘मैले जब फिल्म बनाउने निर्णय गरे तब पहिलो निर्णय नेपाली लिएँ । म भोजपुरी पनि बनाउन सक्थेँ । तर, म नेपाली हुँ । मलाई नेपाली फिल्मले चिनाएको हो ।’  

 उनी अहिले पनि आफू भोजपुरी मार्केटमा रहेको बताउँदै भन्छन्, ‘आफ्नो देश, आफ्नो माटो भन्ने हिसाबले पहिलो फिल्म नेपाली बनाउने निर्णय लिएको हुँ । म भोली भोजपुरी पनि बनाउँछु । किनकि, म त्यो इन्डस्ट्रीको पनि हिरो हुँ । त्यहाँ पनि मलाई धेरैले माया गर्छन् ।’ उनले आफूमाथि लागेको पैसाको लोभले भोजपुरी गएको र नेपाली फिल्म विर्सिएको आरोपको पनि खण्डन गरे ।  उनले आफू भोजपुरी फिल्ममा व्यस्त रहँदा पनि नेपाली फिल्म खेल्ने प्रयास गरेको बताए । उनी भन्छन्, ‘मैले नेपाली फिल्मलाई कहिल्यै माया मारेकै थिइनँ । म आज जहाँ छु त्यो स्थान नेपाली फिल्म क्षेत्रले दिलाएको हो । म भोजपुरी फिल्ममा व्यस्त हुँदा नेपाली फिल्म गर्न नखोजेको होइन । करीब १० वटा जति फिल्म मैले साइन गरेको पनि थिएँ । तर, कुनै बनेनन् । त्यसमध्ये फिल्म ‘जय परशुराम’ बन्यो ।’  उनी अब नेपाली फिल्मलाई निरन्तरता दिने वाचा गर्छन् । विराजले आफू अभिनीत दशक अगाडिको ब्लकबस्टर फिल्म ‘खल-नायक’ को सिक्वेल अफर आए खेल्ने इच्छा पनि व्यक्त गरेका छन् । अहिले यसका निर्माता रोज राणा ‘खल-नायक २’ बनाउँदैछन् । तर, उनले पुराना कोही कलाकार नदोहोर्‍याउने घोषणा गरिसकेका छन् । विराज भने आफूलाई ‘खल-नायक २’ बन्न लागेको विषयमा कुनै जानकारी नभएको बताउँछन् ।  उनी भन्छन्, ‘मेरो करिअरको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म हो यो । टाइटल क्यारेक्टरमा नै म थिएँ । यसको दोस्रो सिरिज बन्न लागेको मैले जानकारी पाएको छैन । कलाकार दोहोरिने/नदोहोरिने भन्ने कुरा स्क्रिप्ट फाइनल भएपछि टुंगो लाग्ने कुरा हो । यदी मलाई फिट हुने भूमिका रहेछ भने रोज जीले पक्कै अफर गर्नुहुन्छ ।’ उनले निर्माता रोजसँग आफ्नो सम्बन्ध सन्तुलित रहेको पनि प्रट्याए ।  ‘रोज जीसँग मेरो सम्बन्ध राम्रो छ । उहाँको आधा दर्जनभन्दा बढी फिल्ममा मैले काम गरेको छु । मेरो कमब्याक नै उहाँको फिल्मबाट भएको थियो । उहाँले बनाउने फिल्ममा मलाई काम गर्न कुनै समस्या छैन । ‘खल-नायक २’ मलाई अफर आयो र स्क्रिप्ट मनपर्‍यो भने अवश्य गर्छु’, उनले भने । केही निकट फिल्मकर्मीलाई आफैं निर्देशक बन्न खोज्दा आफ्नो कमब्याक फिल्म (जय परशुराम) डुबाएको बताएपछि रोज, विराजदेखि रुष्ट रहेको चर्चा छ । 

Facebook Comments Box
TOP