वालिङमा सहकारीमार्फत सामूहिक तरकारी खेती शुरु हुँदै ।

तोलाकान्त बगाले / वालिङ :
स्याङ्जाका स्थानीयले सहकारी मार्फत सामूहिक तरकारी खेतीको थालनी गरेका छन् । वालिङ नगरपालिका १४ को डुम्रेभञ्ज्याङमा एकसय जना स्थानीयहरु संगठित भएर आधुनिक कृषि सहकारी संस्था दर्ता गरेसँगै सामूहिक तरकारी खेतीको तयारी गरेका हुन् ।

आठ रोपनी जग्गा भाडामा लिएर ब्यावसायको थालनी गरेको सहकारीका अध्यक्ष केशबहादुर सिंजालीले बताउनुभयो । “सहकारीमै आबद्ध २०÷२२ जना युवाहरु मिलेर टनेल निर्माण सकेका छौं” अध्यक्ष सिंजालीले भन्नुभयो, “अहिले हामीले यहीँ टमाटरको नर्सरी स्थापना गरेका छौं बिरुवा उत्पादन भएपछि लगाउन शुरु गर्छौं ।” सहकारीले पाँच वर्षलाई प्रति रोपनी दश हजारका दरले जग्गा भाडामा लिएको हो ।

सामुहिक तरकारी खेतीको तयारीको सम्वन्धमा निरिक्षण एवं योजनाको बारेमा जानकारी लिदै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण

बसाई सराईका कारण खेतीयोग्य जमिन बाँझो हुँदै गएपछि त्यसको सही सदुपयोग गरी आर्थिक उपार्जन गर्ने र युवालाई गाउँमै रोजगारी दिने मुख्य उद्धेश्यले सामूहिक टमाटर खेतीको थालनी गरिएको अध्यक्ष सिंजालीले बताउनुभयो ।

“सहकारीमा आबद्ध सदस्यहरु सक्रिय तबरले निरन्तर काम गर्दै आएकाछन्” सहकारीका सचिव दलबहादुर थापाले भन्नुभयो, “समूहमा काम गर्दा ज्ञान सीपहरुको आदान प्रदान हुने भएकाले पनि यो अभियान प्रभावकारी हुने विश्वास लिएको छु ।”

निमार्णधिन टनेल

स्थानीय बाँसहरुको प्रयोगबाट १६ वटा टनेल निर्माण गरिएको छ भने सरल थोपा सिञ्चाईको ब्यवस्था, पानीको ब्यवस्थापन, हाते ट्रयाक्टर खरिद, ढुवानी तथा ज्याला गरी हालसम्म दश लाख खर्च भएको अध्यक्ष सिंजालीले बताउनुभयो ।

“जी सेभेन एग्रिकल्चर प्रा.लि. प्राङ्गारिक पाठशाला खुमलटार ललितपुरबाट हामीले आवश्यक तालिमहरु लिएका छौं” अध्यक्ष सिंजालीले भन्नुभयो, “त्यहाँ सिकेका सीपलाई ब्यवहारमा उतार्ने र मौसमी तथा बेमौसमी तरकारी खेतीबाट समूहलाई आर्थिक समृद्धिको पाटोमा अगाडि बढाउने छौं ।”

टनेलभित्र पहिलो चरणमा टमाटर खेती र टनेल बाहिर अन्य तरकारी बालीहरु लगाउने गरी काम भईरहेको सहकारीले जनाएको छ ।

“सामूहिकरुपमा थालिएको अभियान सँगसँगै ब्यक्तिगतरुपमा पनि आफ्नो जग्गामा तरकारी खेती गर्न चाहनेलाई आवश्यक सहयोग गर्ने नीति सहकारीको छ” सचिव थापाले भन्नुभयो, “जसले गर्दा समूहमा सिकेको सीपलाई ब्यक्तिगतरुपमा पनि छुट्टै प्रयोग गर्न सक्ने भएकाले सहकारीमा आबद्ध सदस्यहरु लाभान्वित हुने छन् ।”

Facebook Comments Box
TOP