पत्रकारले सोधे—न्युनतम पारिश्रमिक कार्यान्वयन कहिले हुन्छ ?

आँधीखोला खवर / स्याङ्जा :
न्युनतम पारिश्रमिक कार्यान्वयनमा नभएको स्याङजाका पत्रकारहरुले गुनासो गरेका छन् । न्युनतम पारिश्रमिक कार्यान्वयन नभएकै कारण जिल्लाका पत्रकारहरु अन्यत्र पलायन भएको स्याङ्जाका पत्रकारले गुनासो गरेका हुन् । पत्रकारहरुलाई राजनितिक विषयमा मात्रै आफूहरुलाई प्रयोग गर्न खोजिएको भन्दै आक्रोस समेत व्यक्त गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले स्याङ्जामा गरेको अन्तक्र्रिमा पत्रकारले गुनासो गरेका हुन् ।
विभागद्वारा आयोजित न्युनतम पारिश्रमिक कार्यान्वयन अवस्था एक समीक्षा र पत्रकारिता क्षेत्रको विकासमा सूचना तथा प्रसारण विभागको भुमिका विषयक अन्तक्र्रिमा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले जिल्लाका पत्रकारहरुको समस्या धेरै भएको बताउनुभयो । सत्य समाचार प्रशारण तथा प्रकाशित गर्दा समेत पत्रकारलाई फसाउने कार्य भईरहेको बताउनु भयो । महासंघका अध्यक्ष शर्माले भन्नुभयो, “जिल्लामा ४ दर्जन पत्रकारहरु छन् धेरै समस्याकै कारण पत्रकारिता पेशा व्यवसायिक हुन सकेको छैन् ।”


महिला पत्रकारहरुको गुणात्मक वृत्ति विकास हुन नसकेको भन्दै महिला पत्रकारको सुरक्षाका कारण समेत महिलाहरु ढुक्क भएर पत्रकारिता पेशा अवलम्बन गर्न नसकेको महिला पत्रकारहरुको गुनासो छ ।


अन्तक्र्रिको उद्दघाटनका अवसरमा वालिङ नगरउपप्रमुख कल्पना तिवारीले पत्रकारिताका माध्यमबाट समाजमा रहेका विकृति विसंगतिलाई हटाउँदै सभ्य समाज निर्माणमा पत्रकारका कलम चल्नुपर्ने बताउनुभयो । साथै उहाँले पत्रकारितालाई व्यवसायिकता तर्फ अगाडि बढाउँदै पत्रकारको दक्षता अभिवृद्धिका लागी समेत हरेक तह लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष प्रदिप कोईरालाले पत्रकारको पेशागत अभिवृद्धि र सुरक्षाका लागि राज्य गम्भीर हुनैपर्ने बताउनुभयो । महासंघका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अर्जुन काफ्ले र सञ्चालन सहसचिव तोलाकान्त बगालेले गर्नुभएको थियो ।


कार्यक्रममा महासंघका अध्यक्ष शर्माले जिल्लाको समग्र पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्र माथि महासंघका पुर्व उपाध्यक्ष राधाकृष्ण डुम्रेले टिप्पणाी गर्नुभएको थियो । त्यस्तै विभागका निर्देशक धु्रवकुमार पोख्रेलले विभागले सञ्चार तथा पत्रकारिता जगतमा गर्दै आईरहेको काम कार्य सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments Box
TOP