जापानी राजा आकिहितोद्वारा राजगद्दी त्याग

japan-king
japan-king

टोक्यो,
जापानी राजा आकिहितोले मंगलबार जापानको राजगद्दी त्याग गर्न लागेका छन् । ८५ वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएका थिए ।

सोही कारण उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए । आकिहितोले राजगद्दी त्यागेको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । अर्थात् मे १ बाट युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्ने छन् ।

जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने गरेको छ । मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुँदैछ । यसको तयारी स्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ ।

सोमबार जापानी सरकारका मुख्य सचिव योशिहिडे सुगाले यसको घोषणा गरेका थिए । सुगाले हस्तलिखित वर्णमालाहरुको एक कार्डबोर्ड देखाएर नयाँ युगको नाम ‘रेईवा’ सार्वजनिक गरेका थिए । हाल जापानमा ‘हेइसी’ युग चलिरहेको छ । तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्याग गरेसँगै अन्त्य हुनेछ ।

जापानमा सम्राटअनुसार युगको नामाकरण गरिन्छ । प्रधानमन्त्री शिन्जो आवेले शब्दको अर्थ व्याख्या गर्नको लागि देशबासीको नाममा सम्बोधन गर्नेछन् । आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्षअघि नै बताएका थिए ।

जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए । त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानूनसमेत पारित गरेको थियो ।

सम्राट आकिहितोले गद्दीत्याग गरेपछि राजगद्दि सम्हाल्न लागेका नारुहितो जापानका १२६ औँ सम्राट हुनेछन् । उनी गद्दीनसीन भएपछि जापान ‘रेईवा’ युगमा प्रवेश गर्नेछ । युवराज नारुहितो र युवराज्ञी मासाको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्म भएको थियो तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिएको छैन् ।

नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुने छन् । त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन् ।

Facebook Comments Box
TOP