गाउँमा बिजुली पुगेपछि ३५ घरधुरीमा खुसीयाली ।
तोलाकान्त बगाले / वालिङ :
लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुसी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुसीयाली छाएको हो ।
चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रे—वेशीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने वाध्यतामा रहेको स्थानीय सन्तबहादुर रानाले बताउनुभयो ।
“गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या भोग्नुप¥यो” स्थानीय रानाले भन्नुभयो, “बिजुली गाउँमा आएपछि मोबाईलहरु चार्ज गर्न, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्युतीय सामग्रीहरु चलाउने गरिएको छ ।”
चापाकोट नगरपालिकाकै अति विकट मध्येको गहते, टाङ्ले र कोकमाडीमा मगर समुदायको बासोबास रहेको छ । बजारभन्दा टाढा रहेको उक्त बिजुलीको अभावमा अध्यारो रहेको बस्तीमा नेपाल विद्युत प्राधिकरण उज्यालोको सहारा बन्न पुग्यो ।
“३५ घरधुरीमा टुकी र सोलार बत्तीको मद्धतले उज्यालोको निर्वाह गर्दै आएका थियौं” स्थानीय रानाले भन्नुभयो, “यस्तो विकट ठाउँमा बिजुली आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महशुस मैंले र हाम्रो समाजले गरेको छ ।”
झरी परेका बेला सोलारले राम्रो र धेरै समय काम नगर्ने साथै शहर बजारबाट आउने आफ्ना आफन्त, ईष्टमित्रहरुलाई अहिलेको जमानामा बिजुली विनाको अन्धकारमा राख्नु हाम्रा लागि दुर्भाग्य थियो अब सो समस्या हटेर गएकाले खुसीयाली छाएको स्थानीय रानाले बताउनुभयो ।
दुई वर्ष पहिले निर्वाचनका बेला त्यस गाउँमा पुग्दा स्थानीयको मुख्य माग बिद्युतीकरण रहेको वडा नं. ७ का वडा अध्यक्ष एकादेव भट्टराईले बताउनुभयो ।
“निर्वाचनका बेला त्यहाँका स्थानीयले राख्नुभएको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थिए” वडा अध्यक्ष भट्टराईले भन्नुभयो, “गतवर्ष बिजयादशमीका समयमा यो वडाका गढभञ्ज्याङ, जालिमडाँडा, कोलङ, सामाकोट, पँधेरामा बिद्युतीकरण गरिएको र यसपटक वडामा बाँकी रहेका ३५ घरधुरीलाई विद्युत सेवा उपलब्ध गराएका छौं ।”
गाउँमा बिजुली आउने भएपछि स्थानीयहरुले बिजुलीका पोल बोक्ने, गाड्ने तथा तार तान्ने तान्ने कार्यमा सघाएका थिए ।
स्थानीय वडाबासी र नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण शाखाले निरन्तररुपमा कार्यलाई तिव्रता दिएसँगै समयमै कार्य सम्पन्न भएको वडा अध्यक्ष भट्टराईले बताउनुभयो ।
यो ठाउँमा पहिले नै बिजुली पुग्नुपर्ने भएपनि अहिलेसम्म बिजुली नपुग्नु दुखद रहेको नेपाल विद्युत प्राधिकरण स्याङ्जा शाखाका प्रमुख सुनिल सापकोटाले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण स्याङ्जाले विद्युतीकरणका लागि तीस लाखभन्दा बढी लागत लागेको अनुमान गरेको छ । एक सय ४५ वटा पोलहरु गाडिएको कार्यालय प्रमुख सापकोटाले भन्नुभयो ।
“संभवत हालसम्ममा स्याङ्जा जिल्लाको बिजुली पुगेको पछिल्लो बस्ती यिनै होलान्” कार्यालय प्रमुख सापकोटाले भन्नुभयो, “त्यो गाउँका बासिन्दाले हामीले कहिले पाप गरेका थियौं र बिजुली बत्ती बाल्न पाएनौं भनी गुनासो गर्नुभएको थियो ।”
गाउँको बस्तुगत स्थलगत अध्ययनपश्चात नेपाल बिद्युत प्रााधिकरणले गाउँमा बिजुली बत्ती जोडदिएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…