कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना, ठूलो विनाश हुने भएकाले निर्माण नगर्न स्थानीयको माग ।

प्रकाश डोटेल / स्याङ्जा :

राष्ट्रिय प्राथमिकता र गौरवका आयोजना अन्तर्गत ‘कालीगण्डकी–तिनाउ डाइभर्सन’ परियोजनाको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ । प्रदेश नं. ५ अन्तर्गत तराईका तीन जिल्लाहरुमा सिंचाईसँगै विश्वकै नमुना पर्यटकीय क्षेत्र बनाउने बहुउद्देश्यीय परियोजनाको प्रक्रिया अघि बढेर अन्तिम चरणमा पुगेको हो ।

माटो परीक्षण अन्य प्राविधिक परीक्षण अध्ययनपछि प्राविधिकहरुले ‘कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना’ सम्भव रहेको प्रतिवेदन सरकारलाई हस्तान्तरण गर्ने तयारीसँगै सरकारले अध्ययनको चरणलाई अन्तिममा पु¥याएको हो । सरकारले चालु वर्षको नीति तथा कार्यक्रममा परियोजनालाई अगाडी बढाउने समेत घोषणा गरेको छ ।

झण्डै ४० अर्व रुपैयाँको लगानीमा स्याङ्जाको गल्याङ्ग नगरपालिका–१, मालुङ्गा (रामनदीधाम) र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर ३० किलोमिटर लामो सुरुङमार्ग मार्फत कालीगण्डकीको पानी तिनाउमा पु¥याउने परिकल्पना सरकारले अघि सारेको हो ।

करिब ९ मिटर चौडा सुरुङमार्गबाट ९० दशमवल ६ क्युसेक पानी तिनाउ नदीमा पु¥याउन सकिने विश्वास प्राविधिकले सरकारलाई सुझाएका छन् । तिनाउमा पछिल्ला दशकहरुमा पानीको सतह ह्वात्तै घटेपछि रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाको ३० हजार हेक्टर जमिन सिंचाई गर्न र एक सय मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना सहित कालीगण्डकीको पानी पु¥याउने बहुउपयोगी परियोजनाको परिकल्पना गरिएको छ ।

परियोजना अन्तर्गत स्याङ्जाको मालुङ्गा र पाल्पाको झुम्सा क्षेत्रमा भौगर्भिक परीक्षणको काम सम्पन्न भइसकेको छ । अहिले सरकारले यो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पु¥याएको दाबी गरिएको छ ।

डिपिआर तयारी हुन अब ३ देखी ५ महिना लाग्छ, त्यसपछिको एक वर्षमा यो कार्यान्वयन चरणमा पुग्ने बताईएको छ । टनेल कहाँबाट शुरु हुने र निकासी कहाँ हुने निश्चित भएको छ । केही जियोलोजिकल अध्ययन पूनः गर्नुपर्नेछ । सरकारले विनियोजन गरेको तीन करोड रुपैयाँबाट कन्सल्टेन्ट मार्फत् काम भैरहेको छ ।

सरकारले काली तिनाउ बहुउद्देश्य परियोजनाको विस्तृत अवधारणा बनाउन आर्थिक वर्ष ०७१÷७२, ०७२÷७३ र ०७३÷७४ मा पनि बजेटको व्यवस्था गरेको थियो । चालु आबमा झण्डै ३ करोड रुपैयाँ विनियोजन भएको थियो । कालीगण्डकी तिनाउ डाइभर्सन परियोजनालाई सरकारले प्राथमिकतामा राखेर काम गर्दै आईरहेको विभिन्न दलका नेताहरुले भाषणमा भन्दै आएका छन् ।

कालीनदीको पानी लगेर तिनाउलाई प्राकृतिक, पर्यटकीय तथा जैविक विविधताले सम्पन्न बनाउन, विद्युत र सिंचाइको ब्यवस्था गर्न कालिगण्डकी डाइभर्सन जरुरी रहेको सरकारको बुझाई छ । त्यसका लागि ४० अर्ब बजेट र करिब ८ वर्षको समय लाग्ने प्रारम्भिक अनुमान गरिएको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ ।

सरकारले निकै महत्वका साथ लिएको ‘कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना’को विरोधमा स्थानीयबासीले आवाज उठाएका छन् । उनीहरुले कालीगण्डकीलाई सरकारले दायाँबायाँ गर्न खोजे आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताए । परियोजना अगाडी बढाए विकास भन्दा ठूलो विनाश हुने उनीहरुको तर्क छ ।

“बाँध निर्माण गरिने क्षेत्रभन्दा तल्लो भागमा नदी आसपासका क्षेत्रमा पानीको हाहाकार भएर मानवबस्ती रहन सक्दैन ।” गण्डकी प्रदेशसभामा बोल्दै प्रदेश सांसद भागवतप्रकाश मल्लले भन्नुभयो, “प्रदेशको स्वीकृत नगरी संघीय सरकारले परियोजना अगाडी बढाउनु दुःखद हो ।” कालीको पानी तिनाउ लैजादा स्याङ्जा, पाल्पा, तनहुँ, नवलपुर र चितवनका लाखौं हेक्टर जमिन मरुभूमी हुन्छन भने उक्त क्षेत्र मानव विहीन हुने उहाँले दावी गर्नु भयो ।

आयोजना वातावरणका दृष्टिले मात्रै बेठिक नभएर देशहितमा पनि नभएको जिकिर गर्दे स्थानीयले बिरोध जनाउँदै आएका छन् । स्थानीय दीर्धबन्धु पौडेलले भन्नुभयो, “परियोजनाको काम अगाडी बढाउँदा जलचरदेखी स्थलचर सबैमा असर पु¥याउने छ ।” कालीगण्डकी क्षेत्रका स्थानीयहरुले पनि आफुहरुको खेतमा सिंचाई सुविधा अभाव भैरहेको समयमा महत्वाकांक्षी योजना अगाडी बढाउने भनेर सरकार गैरजिम्मेवार भएको आरोप लगाउनु भयो ।

Facebook Comments Box
TOP