स्याङजाको फौदीखोला अर्चलेमा बंगुरपालन

स्याङजा जिल्लाको वालिङ नापा –१३, फौदीखोला अर्चलेमा स्थानीय वासिन्दा श्याम बहादुर विकले बंगुरपालन गर्दै आएका छन् । मासु र बच्चा दुवै उत्पादन गर्ने योजनाका साथ फार्म दर्ता गरी विगत चार वर्षदेखि उनले व्यावसायिक रुपमा बंगुरपालन गरेका हुन् । करिब दुई रोपनी भाडाको जग्गामा उनले बंगुरपालन गरेका छन् । साबिक पेलाकोट–६ र हाल वालिङ नगरपालिका क्षेत्रभित्र पर्ने उनको केबी एसबी बंगुर फर्ममा अहिले १६ वटा माउ बंगुर छन् । ‘अहिलेको प्रतिस्पर्धात्मक युगमा गुणस्तरीय उत्पादनले मात्र उपभोक्ताको मन जित्न र बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ’ फार्म सञ्चालक विक भन्छन्, ‘खाद्यान्नलाई चाँडै तथा धेरै परिमाणमा मासुमा परिणत गर्ने र थोरै जमिनको सदुपयोगबाट आयआर्जन गर्न सकिने व्यवसायमध्ये यो नै प्रमुख हो । एउटै फार्मले ठूलो परिमाणमा उत्पादन गर्दा एकातर्फ उत्पादन लागतमा कमी हुन जान्छ भने अर्कोतर्फ गुणस्तरयुक्त मासु प्राप्त हुने गर्दछ ।’ आफूसँग बचत रहेको केही रकम र बैंकबाट ऋण गरी बंगुरपालन व्यवसाय सुरु गरेका विकले अहिलेसम्म २० लाख रुपैयाँ लगानी भइसकेको बताए । अबको एक महिनाभित्र २० वटा माउ र ३० वटा पाठाहरु मासुको लागि थप गर्ने र सरकारी अनुदान सहयोग प्राप्त भएमा एक सय वटा माउ पाल्ने र एक हजार वटा पाठापाठी उत्पादन गर्ने लक्ष्य राखेको समेत विकले बताए ।

योर्कसायर, ल्याण्डरेश, ड्यूरोक, पाख्रिबास जातका बंगुर पाल्दै आएका विकले एन्टिबायोटिक्सबाट उपचार गरेर उत्पादन गर्नुभन्दा व्यवस्थापकीय सुधारका उपायहरु अवलम्बन गरी बंगुरपालन गरिरहेका छन् । रोग लागेपछि उपचारमा ठूलो धनराशी खर्च गर्नुभन्दा रोग प्रतिरोधी क्षमता विकासका लागि उपायहरुको खोजी गर्नु उत्तम हुने उनको भनाइ छ । उनले स्थानीय कच्चा पदार्थहरुको प्रयोगबाट बंगुरको लागि आफैं दाना बनाउने गरेका छन् । व्यवसायबाट फाइदा लिन उनले फार्ममा जैविक सुरक्षाको उचित प्रबन्ध मिलाएका छन् । पाठापाठी किन्नको लागि मानिसहरुको भीड नै लाग्ने र सबैलाई पु-याउन नसकिएको फार्म सञ्चालक विकले बताए । बंगुरपालन व्यवसायमा भविष्य देखेर नै उनी यसमा लागेका छन् । अहिले धेरै मानिसहरु कृषिमा संलग्न नहुनुको कारण भविष्यको सुरक्षा नदेखेर हो । किसानलाई छुट्याइएको बजेट, अनुदान तथा सुविधाहरु वास्तविक किसानसमक्ष पु-याउनुपर्छ । व्यवसायमा लागेकालाई राज्यले अनुदानको रुपमा रकम दिनुभन्दा पनि आवश्यक सामग्री नै उपलब्ध गराउनुपर्नेमा विकले जोड दिएका छन् ।

Facebook Comments Box
TOP