स्याङ्जामा प्रमुखका महिला उम्मेदवार पराजित
प्रकाश डोटेल/
स्याङ्जा, जेठ ७ :
स्याङ्जामा तीन पालिकाका प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, कालिगण्डकी गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका तीनै जना महिला पराजित भएका हुन् ।
जिल्ला सदरमुकामको पुतलीबजार नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी सीमाकुमारी क्षेत्री, कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि माया राना र अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा एमालेकी चीनमाया गुरुङले उम्मेदवारी दिएका थिए ।
पुतलीबजार नगर प्रमुख पदमा उम्मेदवारी दिएकी क्षेत्री यसअघि नगर प्रमुख थिईन् । २०७४ को निर्वाचनमा काँग्रेसका तुल्सीराम रेग्मीलाई झण्डै १२ सय मतान्त्ररले पराजित गरेकी क्षेत्री भर्खर सम्पन्न निर्वाचनमा उनै रेग्मीबाट २४ बढि मतले पराजित बन्न पुगेकी छन् । रेग्मीले १२ हजार ४९४ मत पाउँदा क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासित पराजित भईन् । अध्यक्ष पदमा निर्वाचित थापाले छ हजार ७०० मत ल्याउँदा राना पाँच हजार ५५ मत ल्याएर पराजित बन्न पुगिन् । थापा यसअघि भएको निर्वाचनमा अध्यक्षमा विजयी उम्मेदवार हुन् ।
उता अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी गुरुङ कांग्रेसका प्रकाश तिवारीसँग पराजित भएकी हुन् । गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी गुरुङले तीन हजार ३४७ मत ल्याईन् । गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिईन् ।
२०७४ को स्थानीय निर्वाचनमा पुतलीबजारको प्रमुख बनेर क्षेत्रीले अपेक्षाकृत काम गर्न नसक्दा रेग्मीसँग पराजित बन्न बाध्य भएकी छन् भने यसअघिको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित गुरुङ् कार्यकालभरी विवादित बन्दा तिवारीसँग पराजित बन्न पुगिन् । कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा पुनः निर्वाचित थापा स्थानीय मतदाताबीच लोकप्रिय बन्दै गएका छन् ।
पालिका प्रमुखमा उम्मेदवारी दिएका तीनै जना महिला पुरुष उम्मेदारसँग पराजित भएका हुन् । प्रमुख पदमा महिला उम्मेदवार बनेर पराजित बन्दा जिल्लाका ११ स्थानीय तहमा उपप्रमुख पदमा भने महिला उम्मेदवार नै निर्वाचित भएका छन् ।
काँग्रेसबाट पुतलीबजारमा देबी अर्याल, भीरकोटमा भगवती रेग्मी, वालिङमा कविता तिवारी, गल्याङ्मा हेमा न्यौपाने, चापाकोटमा ईशा राना र अर्जुनचौपारीमा सपना गुरुङ् निर्वाचित भएका छन् । एमालेबाट आँधीखोलामा सिता थापा, फेदीखोलामा देउकुमारी गुरुङ्, हरिनासमा ईन्द्रकुमारी राना बिरुवामा भगवती शर्मा र कालीगण्डकीमा सावित्रा कोईराला निर्वाचित भएका छन् ।
तस्बिर ः बाँयाबाट– क्षेत्री÷राना र गुरुङ्
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


