अब वालिङमै माटो परीक्षण
तोलाकान्त बगाले/वालिङ :
अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो । माटो परीक्षणकालागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालाहरुमा लैजानुपर्ने बाध्यतालाई हटाउँदै वालिङ नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
माटोमा रहेको उर्बराशक्तिमा ह«ास आउन नदिने र उर्बराशक्तिलाई जोगाई राख्नकालागि प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
“पछिल्लो समय माटोमा विभिन्न किसिमका रासायनिक मल तथा विषादीहरुको प्रयोग गर्ने क्रम बढेको छ” उहाँले भन्नुभयो, “जथाभावी रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटो बिग्रिन गई उत्पादन घट्दै गएकाले माटोको उपचार तथा संरक्षणकालागि आधुनिक प्रविधिको ल्याब स्थापना गरी सञ्चालनमा ल्याएका हौं ।”

नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायनहरु खरिद गरेर ल्याएको छ । सोमबारबाट सञ्चालनमा आएको प्रयोगशालाबाट निशुल्करुपमा किसानहरुले ल्याएको माटोको नमूना परीक्षण गरिदिने ब्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।
डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पिएच, ईसी, प्राङ्गारिक पदार्थ, नाईट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिङ्क, आईरन लगायतका १४ प्रकारका खाद्यतत्वहरुको जाँच गरिने कृषि विकास शाखा प्रमुख सुभासचन्द्र अर्यालले बताउनुभयो ।
“शुरुआती चरणमा किसानले ल्याउनुभएको माटो निशुल्करुपमा जाँच गरी प्राप्त नतिजाका आधारमा माटोको सुधारकालागि आवश्यक परामर्श दिन्छौं” शाखा प्रमुख अर्यालले भन्नुभयो, “नगरका १४ वटै वडामा पुगेर किसानहरुलाई माटोको नमूना कसरी लिने भन्ने तरिका प्रदर्शन गरी अभ्यस्त बनाईसकेपछि माटो परीक्षण सेवालाई थप नियमित र प्रभावकारी ढंगले अगाडि बढाउनेछौं ।”
उक्त प्रयोगशालाबाट माटोमा भएका विभिन्न १४ वटा खाद्यतत्वहरुको डिजिटल प्रविधिबाट यथार्थ विवरण प्राप्त हुने भएकाले पनि छिटो, छरितो र प्रभावकारी हुने शाखा प्रमुख अर्यालले बताउनुभयो ।
माटोमा रहेका विभिन्न खाद्यतत्वहरुको अवस्थाकाबारेमा जानकारी पाई माटोको उपचार तथा संरक्षण गर्नकालागि सहज हुने विश्वास वालिङ ८ का किसान हरिप्रसाद बगालेले बताउनुभयो ।
“माटो परीक्षण गर्नकालागि पहिला पोखरा लैजानुपर्ने बाध्यता थियो” बगालेले भन्नुभयो, “अब वालिङमै प्रयोगशाला सञ्चालनमा आएसँगै आँफूजस्तै धेरै किसान लाभान्वित हुनेमा म विश्वस्त छु ।” नगरपालिकाले आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएसँगै यहाँका किसानहरु हर्षित् छन् ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


