अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव सम्पन्न
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको ‘अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ -२०७८ सम्पन्न भएको छ ।
चार दिनसम्म चलेको महोत्वसमा विभिन्न विधाका खेल प्रतियोगिताहरू भएका थिए। पुरूष तथा महिला भलिवल, फुटवल, क्रिकेट, एथ्लेटिक्स, मार्शल आर्ट, व्याडमिन्टन, टेबुल टेनिस लगायतका खेलहरू भएका गाउँपालिका उपाध्यक्ष तथा खेल संयोजक सावीत्रा कोइरालाले जानकारी दिनुभयो ।
वडास्तरीय खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो । मिर्मीस्थित खेल मैदान र भपेङ खेल मैदानमा प्रतियोगिता संचाल भएको थियो ।
प्रतियोगितामा वडा नम्बर ७ प्रथम भएको छ । यो वडाले ६ स्वर्ण, ५ रजत ६ काश्य गरी १७ पदक हात पार्न सफल भएको छ । वडा नम्बर १ दोस्रो भएको छ । ५ स्वर्ण, ५ रजत, २ काश्यसहित १२ पदक जितेर दोस्रो स्थान हासिल गर्न सफल भएको हो । यस्तै वडा नम्बर २ तेस्रो भएको छ । ३ स्वर्ण, १ रजत, १ काश्य गरी ५ पदक हात पार्दै तेस्रो हुन सफल भएको हो । विजयी प्रतियोगिलाई शिल्ड, मेडल, प्रमाण पत्र, नगद पुरस्कार वितरण गरिएको थियो ।

खेलाडीले सिंगो मुलुकलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव पद्मा अर्यालले बताउनुभयो । खेलाडी अनुशासित हुन्छन् । अब सबै युवा अनुशासित भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले युवाको मनोभावनालाई बुझेर गाउँपालिकाले खेलकुद महोत्सव आयोजना गरेको भन्दै प्रशंसा गर्नुभयो ।
गाउँगाउँमा लुकेर रहेका खेलाडी युवाको क्षमतालाई उजागर गर्नको लागि गाउँपालिकाले खेल महोत्सव संचालन गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । यसरी संचालन गरिएको खेलकुद प्रतियोगिताले युवालाई सकारात्मक काममा प्रोत्साहन मिलेको उहाँले बताउनुभयो । आगामी वर्षमा थप संस्करणका प्रतियोगिता हुने उहाँले बताउनुभयो ।

कोरोनाको महामारीले विगत दुइ वर्षदेखि यसरी खेलकुदका कार्यक्रम आयोजना हुन सकेका थिएनन् । २०७५ सालदेखि सुरू गरेको खेलकुद महोत्सवको तेस्रो संस्करण हुन सकेको थिएन । पछिल्लो समयमा कोरोनाको जोखिम कम भएपछि गाउँपालिकाले खेल महोत्सव आयोजना गरेको हो । लामो समयपछि आयोजना गरिएको खेल हेर्न हजारौंका संख्यामा दर्शक मिर्मीस्थित खेल मैदानमा पुगेका थिए ।
कोरोनाको त्रासले रमाउन नपाएको समयमा यसरी सामान्य अवस्थामा खेल हेर्न पाउँदा दर्शक खुसी देखिएका थिए ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरामणी पाण्डेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


