२८ डलरमा प्रेम बीमा, १० वर्षपछि मागियो दाबी भुक्तानी !

तपाईंले अनेक खालका बीमा पोलिसीका बारेमा सुन्नुभएको छ । तर, के कहिल्यै प्रेम बीमाका बारेमा पनि सुन्नुभएको छ ? चीनमा एक महिलाले प्रेम बीमाबापतको रकम भुक्तानीका लागि विमा कम्पनीमा दाबी पेश गरेसँगै बीमाको यो नयाँ प्रकारले चर्चा पाएको छ।

सन् २०१६ मा १ सय ९९ युआन अर्थात् करिब २८ अमेरिकी डलर रकम तिरेर गरेको ‘लभ इन्स्योरेन्स’ को १० वर्षपछि ती महिलाले दाबी भुक्तानी माग गरेकी हुन् ।

समाचार अनुसार बीमा गर्ने बेलामा रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेसँगै उनले १० हजार युआन अर्थात् करिब १,४०० अमेरिकी डलर बराबरको रकम भुक्तानी दाबी गर्दै बीमा कम्पनीमा निवेदन दिएकी छिन् ।

गत अक्टोबरमा १० वर्षदेखिको आफ्नो प्रेमीसँग औपचारिक रूपमा विवाह दर्ता गराएपछि उनले बीमा रकम दाबी गर्न पाएकी थिइन् ।

शान्सी प्रान्तको सियान सहरकी वु थरकी ती महिला र उनका पति वाङ माध्यमिक विद्यालयदेखि नै चिनजानमा थिए । दुवै जनाले एउटै विश्वविद्यालयमा भर्ना भएपछि सन् २०१५ मा प्रेम सम्बन्ध सुरु गरेका थिए ।

सन् २०१६ मा वुले आफ्ना प्रेमीलाई उपहारस्वरूप १९९ युआनको ‘लभ इन्स्योरेन्स’ नामक बीमा पोलिसी खरिद गरेकी थिइन् । सामान्यतः २ सय ९९ युआन पर्ने उक्त बीमा चाइना लाइफ प्रोपर्टी एन्ड क्याजुअल्टी इन्स्योरेन्स कम्पनीले छुट दरमा जारी गरेको थियो ।

प्रेमिकाले आफूहरुको प्रेम सम्बन्धमा दीगोपनाका लागि बकाइदा प्रेम बीमा गराएको सुन्दा सुरुमा त प्रेमी वाङलाई पत्यारै लागेन । सायद बीमा कम्पनीले त्यस्तो अपत्यारिलो बीमा पोलिसीको नाममा ठगेको होला भन्ने उनलाई लागेको थियो । वास्तवमा त्यो बीमा एक प्रकारले प्रेम सम्बन्ध माथिको बाजी जस्तै थियो।

बीमा गरेको तीन वर्षदेखि १० वर्षभित्रको अवधिमा बीमाकर्ता जोडीबीच विवाह भएमा १० हजार गुलाफ वा ०.५ क्यारेटको मुटु आकारको हिराको औंठी पाउने व्यवस्था उक्त बीमा पोलिसीमा थियो । त्यसको साटो १० हजार युआन पाउने विकल्प पनि उपलब्ध गराइएको थियो ।

यद्यपि कम्पनीले सन् २०१७ मै यस्तो ‘लभ इन्स्योरेन्स’ बन्द गर्‍यो । तर, त्यसअघि गरिएका बीमाहरूको भने भुक्तानी दाबी गर्न सकिने कम्पनीका ग्राहक सेवा प्रतिनिधिले बताएका छन् ।

सोही मुताबिक वु र वाङले करिब १० वर्षको प्रेम सम्बन्धपछि विवाह दर्ता गराएसँगै उनीहरूले गुलाफ वा औँठीको सट्टा नगद रकम रोजे । वुले भनेकी छिन्, ‘विवाह सकिइसक्यो । त्यसैले १० हजार गुलाफ कहाँ राख्ने भन्ने नै समस्या भएको हुनाले नगद रकम प्राप्तिको दाबी गरेका हौं ।’

वाङका अनुसार उनले बीमा कम्पनीमा कागजात बुझाइसकेका छन् । कम्पनीको ग्राहक सेवा शाखाले एक-दुई कार्यदिनभित्र इमेल पठाइदिने र त्यसपछि आवश्यक कागजात पेस गर्न भनेको उनले बताए । उनी भन्छन्, ‘ विवाह र हनिमुन त सकिइसक्यो । अब पैसा आएपछि के गर्ने भन्ने निर्णय गर्छौं ।’

स्मरण रहोस्, सन् २०१७ मा चीनको तत्कालीन बैंकिङ तथा बीमा नियामक आयोगले कानुनी वा वास्तविक बीमा जोखिम नहुने ‘गिमिक’ बीमा उत्पादन बन्द गर्न निर्देशन दिएको थियो । त्यसपछि विवाह बीमा र लभ इन्स्योरेन्सजस्ता बीमा योजनाहरु खारेज गरिएका थिए ।

उक्त चिनियाँ जोडीले १० वर्षपछि प्रेम बिमाको रकम प्राप्त गर्न लागेको समाचारले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ ।

एकजनाले लेखेका छन्, ‘हामी पनि कलेजमै भेट भयौं, पाँच वर्ष डेट गर्‍यौं र नौ वर्षदेखि विवाह बन्धनमा छौं । यस्तो बीमाका बारेमा हामीलाई किन थाहा भएन ?’

-साउथ चाइना मर्निङ पोष्टबाट/onlinekhabar

Facebook Comments Box
TOP