महोत्सवको तयारी तिव्र

वालिङ :
नवौँ वालिङ महोत्सवको मिति नजिकिँदै गर्दा तयारी पक्षलाई तिव्र पारिएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित यहि माघ १४ गतेदेखि सुरु हुने महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरुले आ–आफ्ना तयारीलाई तिव्र पारेका हुन् । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा वालिङ ८ स्थित खेलमैदानमा माघ २५ गतेसम्म संचालन हुने महोत्सव विगतका संस्करण भन्दा पृथक हुने आयोजकको दावी छ ।
शनिबार आमा तथा महिला समूहको भेला, प्राथामिक उपचार तथा आपतकालीन विषयमा बैठक र आर्थिक तथा लेखा व्यवस्थापन, बै.क, सहकारी र विमा कम्पनी समन्वय उपसमितिको बैठक संघको सचिवालयमा सम्पन्न भएको छ । आमा तथा महिला समूहको भेला महिला उद्यमी समिति संयोजक मन्जु केसीको संयोजकत्वमा सम्पन्न भएको हो ।
भेलाले महोत्सव उद्दघाटनका दिनमा विभिन्न आमा समूह, महिला समूहहरुले प्रर्दशन गर्ने ¥याली, महोत्सवमा आयोजित रत्यौली गित प्रतियोगिताको विषयमा छलफल भएको छ भने महोत्सव स्थलमा प्राथामिक उपचार तथा आपत्कालिन व्यवस्थापनका विषयमा इश्वरीप्रसाद गैह्रेको संयोजकत्वमा बैठक बसेको हो ।
महोत्सव अवधिभर महोत्सव स्थलमा हुने सामान्य चोटपटकका लागी प्राथामिक उपचार र अन्य कुनै घटना भएमा आपतकालिन व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा बैठकमा छलफल भएको हो । त्यस्तै विभिन्न बैंक तथा सहकारीहरुबाट आर्थिक सहयोग जुटाउने विषयमा संघका कोषाध्यक्ष खगुपति न्यौपानेको संयोजकत्वमा बैठक बसेको हो ।
वालिङ उद्योग वाणिज्य संघका सचिव तथा महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक पिताम्बर खनाल सुशिलले महोत्सवको मिति नजिकिँदै गर्दा प्रचारप्रसारको काम तिव्र पारिएको बताउनुभयो । सामाजिक संजालमा अडियोभिडियो राख्ने, सडक वरपर महोत्सवको पर्चा, पम्लेटहरु टाँस्ने कार्य भईरहेको खनालले बताउनुभयो ।
कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी ३५० स्टलहरु रहने महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, टिकटक प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहने छन् । महोत्सवमा विद्यार्थीकालागि ७० र अन्यका लागि एकसय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । साँझ ५ बजेपछि भने प्रति टिकट रु. २५० निर्धारण गरिएको छ ।
Facebook Comments Box
TOP