जडिबुटी उत्पादनसँगै बजार व्यवस्थापनको बिस्तृत अध्ययन गर्न वालिङको टोली भारत प्रस्थान
स्याङजा :
मूल्य शृङ्खलामा आधारित जडिबुटी उत्पादन तथा बजारीकरणसम्बन्धी अध्ययन गर्न स्याङ्जाको वालिङ नगरपालिकाको टोली भारतको हरिद्वार गएको छ ।
टोलीले हरिद्वारस्थित पतञ्जली योगपीठमा पाँच दिनसम्म रहँदै जडिबुटी पहिचान, प्रवद्र्धन तथा बजार व्यवस्थापनका अभ्यासबारे प्रत्यक्ष अध्ययन र अनुभव आदान–प्रदान गर्ने नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो ।
सामुदायिक तथा नीजि वनमा रहेका तर पहिचान नभएका तथा खेर गइरहेका जडिबुटीको पहिचान,प्रवद्र्धन, संरक्षण र बजारीकरण गर्ने दीर्घकालीन लक्ष्यसहित भ्रमण आयोजना गरिएको उपप्रमुख गैह्रेको भनाइ छ ।
आचार्य बालकृष्णकै पैतृक थलो स्याङ्जामा जडिबुटी अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न सकिने प्रबल सम्भावना रहेको उहाँले बताउनु भयो, । उहाँले भन्नुभयो, “वालिङले बालकृष्णको योगदान र अनुभवलाई जोडेर जडिबुटी क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउन सक्छ । ”
टोलीले भारतमा सफलतापूर्वक सञ्चालनमा रहेका जडिबुटी उत्पादन उद्योग, प्रशोधन केन्द्र र बजार व्यवस्थापन प्रणाली प्रत्यक्ष अवलोकन गर्ने नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नगरपालिकाले यस भ्रमणलाई दीर्घकालीन योजना निर्माणको आधार बनाउन चाहेको उहाँको भनाइ छ ।
स्याङ्जा जिल्लामा जडिबुटीको अपार सम्भावना भए पनि तिनीहरूको दिगो उपयोग र बजार अभावकै कारण किसानले लाभ लिन नसकेका भ्रमणमा सहभागी डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत रूक्मागत सुवेदीले बताउनु भयो । उहाँले भन्नुभयो ,“स्याङ्जा जिल्लामा अमला, हर्रो, बहर्रो, कुचिला, तेजपातदेखि लिएर टिमुर, बोझो, जटामसीजस्ता औषधीय गुण भएका दर्जनौँ जडिबुटी पाइन्छन् तर तिनीहरू वैज्ञानिक ढंगले संकलन हुने गरेका छैनन् । कतिपय वनस्पति खेर गइरहेका छन् । अध्ययन भ्रमणमार्फत हामीले भारतमा प्रचलित प्रविधि, प्रशोधन विधि र बजार सञ्जालबारे जानकारी लिई नेपालमा लागू गर्ने प्रयास गर्नेछौँ ।”
टोलीको अनुभव र ज्ञानले स्याङ्जाको जडिबुटी क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको पालिकाले जनाएको छ ।
अध्ययन भ्रमणमा जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्राविधिक, संचारकर्मी र जडिबुटी व्यवसायमा रुचि राख्ने सरोकारवालासहित ५५ जनाको सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


