वालिङका बंगुर पालक किसानलाई जैविक सुरक्षा सम्बन्धी स्थलगत तालिम

सुशील सुवेदी/स्याङ्जा  :

वालिङ नगरभित्र व्यवसायिक बंगुर पालन गर्दै आएका किसानलाई लक्षित गर्दै  जैविक सुरक्षा सम्बन्धी एक दिने स्थलगत तालिम नगरको सभाहलमा सम्पन्न गरिएको छ ।

नगरभित्र रहेका सक्रिय ३५  व्यवसायीक फर्म र ५ वटा समुह हरुलाई संक्रामक रोगहरूबाट कसरी बचाउने भन्ने विषयमा तालिम आयोजना गरिएको भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।

पछिल्लो समय स्याङ्जाको केही बंगुर फर्ममा महामारीको रुपमा  अफ्रिकन स्वाइन फिवर रोग देखिएपछि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको डा. श्रेष्ठको भनाई छ ।

जिल्लामा यही रोगको कारण झण्डै आधा दर्जन बंगुर मरेपछि यसको संक्रमण अन्यत्र हुन नदिन बंगुर पालक किसानलाई जैविक सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको हो ।

जिल्लाका बंगुर फर्मका किसानहरुलाई खोरेँत , स्वाइन फिवर , अफ्रिकन स्वाइन फिवर , आन्तरिक परजीवी र बाह्य परजीवी जस्ता रोगहरूले हैरानी बेहोर्नुपरेको किसानको गुनासो छ ।

हालसम्म अफ्रिकन स्वाइन फिवरको उपचार नभएको र प्रभावकारी खोप पनि विकसित नभईसकेको हुँदा रोकथाम नै उक्तम विकल्प रहेको वालिङ नगरपालिकाका पशु शाखा प्रमुख डा. रोशन बस्यालले बताए ।

बाहिर बाट असुरक्षित पाठापाठी र माउ ल्याउँदा यस्ता रोगहरु बंगुरले बोकेर आउने गरेको छन् ।

संक्रमित बंगुरहरुमा कडा ज्वरो आउने , खाना नखाने , बान्ता हुने , पखाला लाग्ने , शरीरभरि रातो धब्बा देखिने जस्ता लक्षण देखिएपछि नगरपालिकाको पशु शाखा वा भेटेरिनरी अस्पतालमा तत्काल खवर गर्न पशु चिकित्सकले अनुरोध  गरेका छन् ।

संक्रामक रोगले बंगुरको उच्च मृत्यू दर रोकथाम गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पालिका स्तरीय कार्यक्रम संचालन गर्दै आएको छ ।

वालिङ नगरलाई बंगुरको मासु तथा पाठा पाठीमा आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारिएको नगरप्रमुख कृष्ण खाँणले बताए । नगर प्रमुख खाँण भन्छन् , “बाहिर बाट रोग बोकेर आउने  बंगुर रोकथाम गर्दै यहीँको बंगुर लाई प्राथमिकतामा राख्ने नीति बनाउँदैछौँ । यसको लागि बंगुर पालक किसान उत्साहित भएर संख्या वृद्धि गर्नुहोस् , बाहिरको आयात नियन्त्रण हुन्छ । ”

वालिङ नगरभित्र बंगुर पालनमा सक्रिय किसानलाई व्यवसाय वृद्धि गर्न बिउ पुँजीको रुपमा आर्थिक सहयोग गर्न नगर तत्पर रहेको नगर उपप्रमुख कविता गैह्रेले बताईन् ।

बंगुर पालक किसानको जोखिम कम गर्न  इन्सुरेन्स कम्पनीले पनि सहकार्य गर्ने शिखर इन्सुरेन्स प्रवन्धक शंकर सुवेदीले बताए ।

यदि नगरले बाहिरबाट हुने आयात बन्द गर्न सक्ने हो भने वालिङ नगर बंगुरमा आत्मनिर्भर बन्ने मात्र होईन बंगुर व्यवसाय अर्थतन्त्रको राम्रो मेरुदण्ड बन्न सक्नेछ ।

 

Facebook Comments Box
TOP