कानुन अभावकै कारण देश गरिब बन्यो : पूर्व मन्त्री गुरुङ ।

वालिङ,पुस २१ गते ।
नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले कानुन अभावका कारण मुलुक गरिब बनेको बताउनु भएको छ । स्याङ्जाको कालीगण्डकीमा नेपाली काँग्रेसको सयदिने बिशेष अभियानको उद्घाटन गर्नुहुँदै गुरुङले मुलुकमा चार वटा मात्रै भए पनि कानुन नयाँ बनाउन सके राजस्वमा बृद्धि हुने तर्क गर्नु भयो । कानुन अभावकै कारण मुलुकमा राजस्व बृद्धि गर्न नसकिएको उहाँको भनाई छ ।
पूर्व कानुनमन्त्री समेत रहनु भएका गुरुङले सम्वन्धित मन्त्रलायलाई कानुन मस्यौदा नपठाउदा आफ्नो कार्यकालमा कानुन बनाउन नसकेको बताउनु भयो । देशको आर्थिक पाटो सुधार्ने हो भने कानुन निर्माणकै आवश्यकता रहेको उहाँको भनाई छ ।
अबैध कारोवारलाई नियमानुसार हुने गरी बैधानिक, जडिबुटी सम्वन्धी, घरेलु मदिरा र गाँजा सम्वन्धी नयाँ कानुन बनाउन सकियो भने १७ खर्बबाट २५ खर्ब राजस्व बढाउन सकिने उपसभापति गुरुङको दावी छ ।
पाँचसय र हजारको नोटबन्दी गरी बैकिङ् प्रणाली मार्फत कारोवार गर्नुपर्ने, नेपालको जंगलमा रहेका काठको प्रयोग गर्नुपर्ने, घरेलु मदिरा उत्पादनलाई प्रथामिकता दिनुपर्ने र गाँजा खेतीका बिषयमा प्रष्ट कानुन बनाएर अगाडी सार्ने हो भने देशले छिट्टै आर्थिक फड्को मार्ने उपसभापति गुरुङ्ले बताउनु भयो ।
कानुन अभावकै कारण करोडौंको काठ बाहिरबाट आयत गरिएको उहाँको भनाई छ । कानुनको अभावमा जंगलमा काठ कुहिएर खेरा गइरहेको भन्दै पूर्वमन्त्री गुरुङले बाहिरी काठ रोकेर नेपाली जंगलकै काठ प्रयोग गर्न सके राजस्वमा बृद्धि हुने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघिय सांसद राजु थापाले सरकारले नागरिकको भावना अनुसार काम गर्न सुझाव दिनु भयो । बजेट अभावको बाहानामा योजनाहरु अलपत्र पार्नुभन्दा जनताको आवश्यकताका आधारमा योजनाहरु सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन सरकारलाई आग्रह गरेका थिए । बजेट अभावमा योजनाहरु लामो समय देखि अलपत्र परेका उनीहरुको भनाई छ ।

 

Facebook Comments Box
TOP