उत्पादनसँगै बजारीकरणमा जोड दिँदै वालिङ नगरपालिका ।
![](https://aadhikholakhabar.com/wp-content/uploads/2024/12/multinath-krishi-company.jpg)
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले कृषि उत्पादनसँगै बजारीकरणमा जोड दिने भएको छ । पालिकाले कृषिमा दीर्घकालिन योजना बनाएर सम्भावना खोज्ने र उत्पादन बढाउने अभियानमा जुटेको हो ।
नगरपालिकाले मुक्तिनाथ कृषि कम्पनीसँग मिलेर कृषि उत्पादन बढाउँनुका साथै बजारीकरण अभियान सञ्चालन गर्न लागेको नगरप्रमुख कृष्ण खांणले बताउनु भयो । उहाँले भन्नुभयो,“नगरपालिकाले साझेदारहरुको सहकार्यमा कृषिलाई व्यावसायिकता बढाउँदै लैजाने योजना बनाएको छ ।”
स्रोत र साधनको अभाव रहेको भन्दै प्रमुख खांणले भएका स्रोत साधनलाई सही रुपमा परिचालन गर्न विज्ञहरुको आवश्यक्ता परेको बताउनु भयो ।
नगरपालिकामा भएको ‘कृषि उत्पादन र बजारीकरण’ छलफलमा कृषकहरुले उत्पादनले बजार नपाउँदा आफूहरुमा काम गर्ने जाँगर हराउँदै गएको बताएका थिए । वालिङ नगरपालिका–१० कृषक रुक्मागत ढकालले कृषि उत्पादन गर्नै समस्या, उत्पादन गरे पनि बजारको समस्या रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“हामी बजार सम्म पुग्न सक्दैनौं बिचौलियाहरुले धेरै नाफा खाईदिन्छन्, हामीलाई सबै थाहा छ तर केही गर्न सक्दैनौं ।”
छलफलमा सहभागि नगरका अगुवा कृषकहरुले बजारको व्यवस्थापन गरी आफूहरुलाई काम गर्ने वातावरण बनाईदिन आग्रह गरेका थिए । गुणस्तरीय बीउ,आधुनिक कृषि औजार आदिमा कृषकले धेरै मेहनत नगर्ने हो भने उत्पादन बढ्ने कृषक शोभाकान्त काफ्लेको भनाई छ ।
नगरउपप्रमुख कविता तिवारी गैह्रेले कृषि उत्पादन बढाउन र बजारीकरणका लागि पालिकाले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नगरपालिकाले पशु खरिदमा अनुदान दिएको छ भने दुध लगायतका बस्तुमा उत्पादनमा आधारित अनुदान दिएको छ ।”
कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका प्रवन्धक निर्देशक भरतराज ढकालले कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ भन्ने अभियानका साथ काम सुरु गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,“उत्पादन र उत्पादकत्व बृद्धि,प्रविधि प्रसार,कषि उद्योग र बजारीकरणमा कम्पनीको विशेष योजना छ ।”
छलफलमा निर्देशक ढकालले गुणस्तरीय खाद्यान्नय प्रवद्र्धन,खाद्य सारक्षता,बजार सूचना प्रणाली र उपभोक्ता हित संरक्षणमा काम गर्न सुरु गरेको बताउनु भयो ।
कृषकलाई कृषि कर्ममा सहज बनाउँदै कृषि उत्पादन बढाउने योजना रहेको उहाँको भनाई छ ।
कम्पनीले सार्वजनिक ,नीजि,सहकारी साझेदारीमा काम गर्नु पर्नेमा ढकालको जोड छ ।
साना किसानलाई उद्यमशीलतामा जोड्न विभिन्न साझेदार संस्थासँग मिलेर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको भनाई छ । उहाँका अनुसार नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल लगायतका संघसंस्था सँगको सहकार्य कृषि क्षेत्रको विकासमा काम गरिरहेको छ ।
सो अवसरमा नगरपालिका र कम्पनी बीच सम्झौता गरी कृषि र यससम्वन्धी कामलाई अगाडि बढाउने योजना रहेको जानकारी गराईएको थियो ।
छलफलमा नगरपालिका भित्रका अगुवा कृषक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री![](https://aadhikholakhabar.com/wp-content/uploads/2025/01/student-waling-468x300.jpg)
वालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…