माओवादी केन्द्रको खबरदारी सभा तथा तेस्रो अधिबेशन गल्याङमा

गल्याङ :

नेकपा माओवादी केन्द्रको खबरदारीसभा तथा तेस्रो अधिबेशन गल्याङमा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटिको आयोजनामा खबरदारी सभा तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको हो ।
तेस्रो अधिबेशनले दुर्गाबहादुर थापाको अध्यक्षतामा नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटिको ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
अधिबेशनले थापाको अध्यक्षतामा नयाँ कमिटि सर्बसम्मत चयन गरेको हो ।
कमिटिको उपाध्यक्षहरुमा ज्योति भट्टराई, त्रिलोचन गौडेल र भुमकला न्यौपाने चयन हुनुभएको छ । यस्तै, सचिवमा सुनिता सिंजाली, सहसचिबमा दुर्गा शिरिषमगर र कोषाध्यक्षमा लोकबहादुर बराल चयन हुनुभएको छ ।
अबिधेशनमा विभिन्न पार्टी परित्याग गरेका १३ जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।
यसैबीच, अधिबेशन लगत्तै गल्याङबजारमा खबरदारी सभा पनि गरिएको छ ।
भ्रष्टाचारीहरुलाई जोगाउन महागठबन्धनकारी सरकार गठन भएको र त्यही खालका गतिविधिहरु भ्ैरहेको भन्दै माओवादी केन्द्रले खबरदारी सभा गरेको हो ।
गल्याङ नगरपालिका ३, गल्याङबजारमा भएको खबरदारी सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रका स्याङ्जा जिल्ला इञ्चार्ज शैलेन्द्र घिमिरेले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि मात्रै गठन भएको बताउनुभयो ।
भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ पर्ने र काङ्ग्रेस नेतृ आरजु राणा देउवालाई पक्राउ गर्ने तयारी भएकै बेला सरकार रातारात फेरिएको उहाँको भनाई छ ।
इञ्चार्ज घिमिरेले भ्रष्टाचारीको संरक्षण र बेथितिका लागि नै सरकार बनेको कुरा पछिल्ला गतिविधिले झनै पुष्टी गरेको बताउनुभयो ।
सहकारी प्रकरणमा रवि लामिछाने पक्राउ गर्दा धनराज गुरुङ र एमालेका नेताहरु पक्राउ नगरिनुमा सरकार आफ्नालाई मात्रै जोगाउने योजनामा छ भन्ने कुरा स्पष्ट भएको उहाँको भनाई छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र स्याङ्जा जिल्ला अध्यक्ष लोकेन्द्र थापाले सरकारको गतिविधिकै कारण जनमत अहिले माओवादीको पक्षमा आएको बताउनुभयो ।
काङ्ग्रेस र एमालेकै कारण युवा पलायन, बेरोजगारी, बैदेशिक ऋण बृद्धि तथा देशको समग्र अवस्था नै खराब बन्दै गएको उहाँको भनाई छ ।
खबरदारी सभामा माओवादी केन्द्रका गल्याङ नगर कमिटिका निवर्तमान अध्यक्ष चित्रबहादुर राना, नवनिर्चाचित अध्यक्ष दुर्गाबहादुर थापा, उपाध्यक्ष ज्योति भट्टराई लगायतले बोल्नुभएको थियो ।
देशमा भ्रष्टाचार र बेथिति बढ्दै गएको भन्दै माओवादीले देशभर नै सरकार विरुद्ध खबरदारी सभा गरिरहेको छ ।

Facebook Comments Box
TOP