वालिङ–१ मा महिलाहरुको भलिवल प्रतियोगिता सम्पन्न ।

वालिङ :
वालिङ नगरपालिका–१ का महिलाहरु (गृहिणी)को भलिवल प्रतियोगिता सम्पन्न भएको छ । वडा भित्रका टोलहरु अन्तर्गत महिला भलिवलको आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेतालाई पुरस्कार प्रदान गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले स्वस्थ जीवनका लागि खेल अपरिहार्य रहेको बताउनु भयो । वालिङ नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उपप्रमुख तिवारीले वालिङका खेलाडीहरुले खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो । उहाँले भन्नुभयो,“वालिङका महिला खेलाडीहरुको उत्कृष्ट प्रदर्शनका कारण छुट्टै पहिचान बनेको छ ।”
युवालाई उद्यमशील बनाउन र स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम सञ्चालन भईरहेको उपप्रमुख तिवारीले बताउनु भयो । स्मार्ट नगर बनाउनका लागि सबैको सहयोग अपरिहार्य रहेको उहाँको भनाई छ ।


विकास निर्माणसँगै खेल क्षेत्रलाई पनि अगाडि लैजान भलिवल प्रतियोगिताको आयोजना गरिएको वालिङ–१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता पदमराज गुरुङले बताउनु भयो । वडामा नमुना र फरकशैलीका काम गर्न आफूहरु लागि रहेको भन्दै वडा अध्यक्ष गुरुङले महिला भलिवल यसको उदाहरण भएको बताउनु भयो ।
आठ समूह सहभागी रहेको प्रतियोगितामा बसपार्क टोल प्रथम,विशाल टोल दोस्रो, बुद्ध टोल समूह तेस्रो र मन्साङ्कोट टोल समूह सान्त्वना भएका फुलवारी टोलका सचिव नबिन कुँवरले जानकारी दिनुभयो ।
विजेता समूहलाई नगर उपप्रमुख तिवारी तथा वडा अध्यक्ष गुरुङले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा वालिङ–१० का वडा अध्यक्ष सुनिल खनाल वडा नं. ११ वडा अध्यक्ष डण्डु पङ्गेनी, वडा नं. १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) लगायतको सहभागिता रहेको फुलवारी टोलका अध्यक्ष मुक्ति प्रसाद काफ्लेले जानकारी दिनु भयो । प्रतियोगिताको व्यवस्थापन कार्यक्रमको व्यवस्थापन फुलवारी टोलले गरेको थियो ।

Facebook Comments Box
TOP