भुम्रे माविका विद्यार्थी कपाल काट्ने सीप सिक्दै

आरती कुँवर/वालिङ :
स्याङ्जाको वालिङ ९ मा रहेको भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन थालेको छ । शिक्षासंँगै सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यसहित एक महिना निशुल्क तालिम दिने भएको हो । प्राविधिक ज्ञान सीपप्रति ईच्छुक कक्षा ८, ९ र १० छात्रछात्राका लागि तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन गर्नुहुँदै वालिङ ९ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले हाम्रो दैनिक जीवनमा उपयोगी हुने विभिन्न कामहरु मध्ये कपाल काट्ने सीप पनि महत्वपूर्ण रहेको भन्दै तालिम सिके पश्चात व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । पढाईसंगै सीपमूलक तालिम लिएर आर्थिकरुपमा आत्मनिर्भर बन्न सकिने भएकाले यो तालिम उपलब्धिमुलक रहने उहाँको विश्वास छ ।

विद्यालयको आन्तरिक स्रोतबाट यो वर्षको वार्षिक कार्ययोजना अन्तर्गत तालिम शुरु गरिएको भुम्रे माविका प्रध्यानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । “कितावी ज्ञानले मात्रै विद्यार्थीलाई आत्मनिर्भर बनाउन सकिंदैन, विद्यार्थीलाई प्राविधिक ज्ञान सीप दिनुपर्छ भन्ने लाग्यो” उहाँले भन्नुभयो, “विदेश जानकालागि पनि धेरै पैसा खर्च गरेर सीप सिकेको हामीले देखेका छौं, विद्यालय तहमै प्राविधिक ज्ञान तथा सीपमूलक तालिम लिइसकेपछि दैनिक जीवनमा प्रयोग गरी ब्यवसायिक बन्न सक्ने ठानेका छौं ।”

पहिलोपटक निःशुल्क तालिम दिएर एउटा प्लेटफर्म तयार पारेको बताउँदै विद्यार्थीहरु इच्छुक रहेको खण्डमा अन्य तालिमहरु पनि थप्दै जाने उहाँको भनाई छ । विद्यार्थीका अभिभावकसंँग पनि समन्वय गरेर विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै प्राविधिक ज्ञान तथा सीपमूलक तालिमहरु प्रदान गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक नवराज पौडलले हरेक विद्यालयहरुमा प्राविधिक शिक्षाहरु दिनुपर्नेमा जोड दिनुभयो । प्राविधिक ज्ञान हासिल गरेको कुनैपनि व्यक्ति बेरोजगार नरहने भएकाले यसको महत्व रहेको बताउनुभयो । तालिममा सुनबहादुर घर्तीले प्रशिक्षण दिनुहुनेछ ।
भुम्रे माविका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक ध्रुव पंगेनीले गर्नुभएको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP