भीरकोट नगरपालिकाले मनायाे तेस्रो बालमैत्री दिवस ।

स्याङ्जा :
स्याङ्जाको भीरकोट नगरपालिकाले तेस्रो बालमैत्री दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । नगरले बालमैत्री नगरपालिका घोषणा भएको दिन फागुन २२ गतेलाई बालमैत्री दिवसको रुपमा मनाउँदै आएको हो । २०७७ फागुन २२ गते भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोस्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । बालमैत्री नगरपालिकाले बालअधिकार, बालबचाउ र बालसहभागिताका क्षेत्रमा काम गर्दै आएको छ ।
बालमैत्री दिवस समारोहमा बोल्दै नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले नगरपालिकालाई बालमैत्री घोषणासँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्नेमा जोड दिए । नगरपालिकाले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन र गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गरिरहेको उनको भनाई छ । बालबालिकाको समग्र वृद्धि र विकासलाई प्राथमिकतामा राखेर बालमैत्री नगरको पहिचान स्थापित गर्न सके यसको निरन्तरता सदैव हुनेमा आशावादी रहेको कर्माचार्यले बताए ।


अहिले भीरकोटका सबै विद्यालयमा छात्र र छात्रामैत्री शौचालय रहेका छन् । सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ । सबै घरमा शौचालय बनेको छ । बालबिबाह न्यूनिकरण भएको छ । सबै बालबालिकाहरुको जन्म दर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्यूनीकरणको काम तीब्र रुपमा गरिरहेको छ । वालविवाह रोकथाम र न्यूनिकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । भीरकोट नगरपालिकाले बालमैत्री नगरको यात्रा विगत ५ वर्षदेखि मात्रै सुरु गरेको थियो । नगरभित्र १८ बर्ष उमेर नपुगेका बालबालिकालाई सुर्ति तथा मदिराजन्य पदार्थ विक्री वितरण तथा ओसार पसारमा पूर्ण प्रतिवन्ध गरिएको छ ।
भीरकोट नगरपालिका सिटि हलमा सम्पन्न तेस्रो बालमैत्री दिवस कार्यक्रममा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । कार्यक्रममा नाटक, नृत्य र दोहोरी प्रतियोगिता सम्पन्न भएका छन । नाटक तर्फ प्रथमः बालोदय आ.मा.वि., द्धितियः बाल संजाल वडा नं. ६ र तृतियः दहथुम मा.वि. भएका छन् । नृत्य तर्फ प्रथमः भाग्योदय मा.वि., द्धितियः पब्लिक एकेडेमी, तृतियः भू.पू. शैनिक आ.मा.वि. भएका छन् भने दोहोरी तर्फ प्रथमः वडा नं. ३ बाल संजाल, द्धितियः पिपलडाँडा मा.वि. र तृतियः वडा नं. ८ बाल समुह भएका छन् । विजयी विद्यार्थीहरुलाई नगरले नगद र अन्य पुरस्कार सहित सम्मान गरेको छ ।
कार्यक्रममा नौलो आकर्षणको रुपमा स्थानीय खाजाको परिकार रहेको थियो । खाजाको व्यवस्थाको लागि वडा नं. ४ का सहनशिल आमा समूहलाई जिम्मेवारी दिईएको नगरपालिकाले जनाएको छ । अन्य कार्यक्रममा प्याकेटका खानेकुरा खाजाको रुपमा प्रयोग गर्ने गरिएको भएता पनि बालमैत्री कार्यक्रममा भने स्थानीय आमा समुहले तयार पारेको सेल राटी र अर्गानिक अचार रहेको थियो । यो खाजा स्वस्थवर्धक रहेको सहभागीहरुले बताएका छन् ।

Facebook Comments Box
TOP