वालिङ :लोकसेवाको निशुल्क तयारी कक्षामा विद्यार्थीको उत्साहजनक सहभागिता ।

वालिङ :

वालिङ नगरपालिकाले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले नगरपालिकाले तीन महिने तयारी कक्षा सुरु गरेको हो ।

लोकसेवा आयोगले लिने नायव सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गरेको हो । तयारी कक्षाको लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको लोकसेवा तयारी कक्षा सञ्चालन कार्यक्रमका संयोजक माधवप्रसाद न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार दुई सय जना विद्यार्थीले कक्षा लिनका लागि आवेदन दिएकोमा पहिलो चरणमा झण्डै एक सय जना विद्यार्थी तयारी कक्षामा सहभागी छन् । अन्य विद्यार्थीहरूका लागि पनि समय मिलाएर सञ्चालन गर्ने तयारी भइरहेको न्यौपानेको भनाइ छ ।

मानव संशोधनको विकास नगरी पालिका समृद्ध बन्न नसक्ने भन्दै लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । पढेका युवा बेरोजगार हुँदा पढेर मात्रै के गर्ने भन्ने बुझाई युवामा आउन थालेको भन्दै उपप्रमुख तिवारीले सरकारी सेवामा प्रवेशका लागि सहयोगी बन्न कक्षा सञ्चालन गरेको बताउनुभयो ।

आउने दिनमा बैङ्किङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेहरूका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन गर्ने तयारी भइरहेको उपप्रमुख तिवारीको भनाइ छ ।

काठमाडौँ, पोखरा तथा वालिङका अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण दिइने भएको छ । सैद्धान्तिक र प्रयोगात्मक विधिद्वारा कक्षा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।

निजामती तथा अन्य सेवामा स्याङ्जाको महत्त्वपूर्ण पहिचान छ । पालिकाले विगतका वर्षमा चलाएको निःशुल्क कक्षाको प्रभावकारिता राम्रो भएकाले यस पटक निःशुल्क तयारी कक्षालाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

कक्षामा विद्यार्थीलाई कसरी तयारी गर्ने, कसरी परीक्षा दिने, कुन कुन विषय वस्तु पढ्ने जस्ता विषयमा समेत प्रशिक्षण दिइने कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP