भीरकोटमा माटो परीक्षण घुम्ती शिविर

भीरकोट :  भीरकोट नगरपालिकामा घुम्ती माटो परीक्षण शिविर अभियान सञ्चालन गरिएको छ । भीरकोट नगरपालिका कार्यालयले कृषि ज्ञान केन्द्रको सहयोगमा शिविर सञ्चालन गरेको हो । नगरपालिकाका सबै किसानहरुलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको छ । भीनपा वडा नं. ९ बाट उद्घाटन गरिएको शिविर अन्तर्गत नगरपालिकाका ९ वटै वडामा माटो परीक्षण गरिने भएको छ । ‘कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ, माटोको खाद्य शक्ति बढाउन के गर्नु पर्छ, उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाकाद्धारा सबै वडाका किसानलाई लक्षित गरी शिविर सञ्चालन गरिएको छ’ भीनपाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भने, ‘यो शिविरबाट किसानलाई माटो परीक्षण सम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भएर उत्पादनबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएका छौ ।’

कृषि शाखाका प्राविधिक सुजना पौडेलले माटो परीक्षणमा किसानहरु अपेक्षित सचेत नभएकाले शिविरबाट सचेतना वृद्धिमा टेवा पुग्ने बताईन् । ‘किसानहरु जति सचेत हुनु पर्ने हो, त्यति छैनन्, माटो परीक्षण भनेको के हो भनेर सोध्छन्’ उनले भनिन्,‘यो शिविरबाट माटो परीक्षण सचेतना बढ्छ, त्यसले उत्पादनमा केही न केही असर पर्छ ।’ शिक्षित किसानहरु माटो परीक्षणमा सचेत देखिए पनि परीक्षणका लागि माटोको नमूना लिंदा नै समस्या हुने गरेको पौडेलले बताईन् । पौडेलले किसानहरुलाई माटो परीक्षणका लागि सचेतना फैलाउन सबै वडामा शिविर सञ्चालन गरिएको बताईन् । सबै वडामा शिविर सकिएपछि माटो परीक्षणको प्रतिवेदन नगरमा बुझाइने पौडेलको भनाई छ । ‘त्यो प्रतिवेदनका आधारमा माटो गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले कार्यक्रम बनाउँछ, त्यसका लागि सबै ठाउँको रिपोर्ट नगरलाई बुझाउँछौ ।’

Facebook Comments Box
TOP