बाँदर घरमा नै आउन थाले पछि अनावस्यक रुख कटान गर्दै गाउँले ।

स्याङजा :
पछिल्लो समय बाँदर बनजङ्गलमा बस्न छोडेर गाउँ पस्न सुरु गरेकाछन् । घर नजिकै रहका ठूलो रुख र बाँसका घारीमा बस्ने र मौका पर्दा घर भित्रै छिरेर अन्नपात खाईदिने गरेको भन्दै गुनासो आउने गरेको छ । करेसाबारीमा लगाएको तरकारी र फलफूल खाने र बिगार्ने बाँदरको दनिकी नै बनेको छ ।
घरनजिक ठूला र अनावस्यक रुख हुँदा बाँदर घरमा नै आएको र समस्या बनाएको भन्दै वालिङका विभिन्न ठाउँमा यस्ता रुख कटान गर्न थालिएको छ ।
वालिङ नगरपालिका–६,८ र १४ का विभिन्न ठाउँमा रुखहरु कटान गर्ने काम भईरहेको वडा कार्यालयहरुले जनाएकाछन् ।
गाउँलेहरु स्वतस्फूर्त रुपमा अनावस्यक रुख कटान गर्न प¥यो भनेर आए पछि हामीले सहजीकरण गरेका छौं वालिङ–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले बताउनु भयो । उहाँले भन्नुभयो,“घर वरीपरी रहेका रुखका कारण बाँदरले सताई रहेको छ भने अनावस्यक झाडीका कारण चितुवाले त्रास बनाई रहेको छ ।” दिउसै मान्छेलाई चितुवाले आक्रमण गरेपछि घर वरीपरी रहेका झाडीहरु पनि कटान गर्ने काम भईरहेको उहाँको भनाई छ ।
बाँदरले खेतवारीमा लगाएको अनबाली नष्ट गरिदिने तथा घरमा नै पस्ने गरेपछि वालिङ ६ पाण्डेगाउँका स्थानीयहरुले रुख कटान गरिरहेकाछन् । आफूहरु एकजुट भएर आफैले पैसा जम्मा गरेर अनावस्यक रुख कटान गर्ने काम गरिरहेको नेपाली कांग्रेस वालिङका सभापति तथा स्थानीय नेत्रप्रसाद पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो,“बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु पर्ने अवस्था आयो ।” जंगली जनावरका कारण उत्पादन समेत घट्दै गएको पाण्डेको भनाई छ ।
जंगली जनावरका कारण गाउँलेहरु बसाईसराई गर्ने अवस्थामा पुगेको भन्दै अनावस्यक रुख तथा झाडीहरु सफा गर्न गाउँले जुटेको उहाँले बताउँनु भयो ।जिल्लाका धेरै ठाउँमा बाँदर धपाउन कृषक खेती बाली रुँगेर बसिरहनु पर्ने अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषक कृषिबाट विस्थापित हुँदै जाने क्रम पनि बढिरहेको छ ।
“प्राय जुनसुकै कार्यक्रममा पनि कृषकहरुको गुनासो बाँदर नियन्त्रण गरिदिनु पर्यो भन्ने हुन्छ”वालिङ नगर उपप्रमुख कविता तिवारीले भन्नुभयो । गाउँलेहरुलाई अनावस्यक रुख र झाडी सफा गर्नका लागि पालिकाले सहजीकरण गर्ने उहाँको भनाई छ ।
बाँदर नियन्त्रण कसरी गर्ने भन्ने भरपर्दाे उपाय नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइको लागि रुख काट्ने अभियान थालिएको वडा अध्यक्ष कुँवरले बताउनु भयो ।
बाँदरले बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा फलफूल, आलु, तरकारी, आदिलाई बिगारिदिने गरेको छ । घरभित्र राखेको अन्न समेत बाँदरबाट जोगाउन नसकिने अवस्था आउँदा कृषकहरु पेसाबाट नै पलायन हुने र बसाई सर्ने अवस्थामा पुगेका बताउँने गरेकाछन् ।
विगतमा बसाइँसराइ कम भएको र मानिसहरु पनि धेरै हुँदा गाउँमा चहलपहल थियो, अहिले तिनै गाउँहरू सुनसान बन्दा जङ्गली जनावरको राज चलिरहेको कृषकको गुनासो छ ।
यता वालिङ १२ ले पनि कृषकलाई अनावस्यक रुख कटानका लागि अनुदानमा आधुनिक आरो वितरण गर्ने तयारी गरेको वडा अध्यक्ष विश्वजंग गुरुङले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP