कांग्रेस सभापति देउवा : ‘अहिलेको अवस्थामा कसैको बहुमत आउदैन,गठबन्धन बाध्यता हो’

Ser bahadur Deuwa NC

राधाकृष्ण डुम्रे/वालिङ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि पार्टीको बहुमत नपुग्ने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जाको पहिलो जिल्ला सम्मेलनलाई स्याङ्जाको पुतलीबजारमा सम्बोधन गर्नुहुँदै सभापति देउवाले गठबन्धन अहिलेको आवश्यक्ता भएको स्पष्ट पार्नु भयो ।
सभापति देउवाले संविधान अनुसार कुनैपनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“हामी गठबन्धनलाई लामो सयम लैजानु पर्ने अवस्थामा छौं ।”
पूर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले युवापुस्तालाई स्वदेशमा नै रोक्न जरुरी रहेको बताउनु भयो । स्वरोजगार लगायतका कार्य गरेर उनीहरुलाई यही रोक्नु पर्छ उहाँको भनाई छ ।
नयाँ व्यवस्था आएसँगै देशमा विकासले गति लिएको भन्दै सभापति देउवाले यही शासन व्यवस्थालाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।
पछिल्लो समय महिला,जनजाती तथा पछाडि परेको समुदायलाई विशेष स्थान दिईएको भन्दै उनीहरुलाई अगाडि बढाउन समानुपातिक र समावेशी सिद्धान्त ल्याईएको उहाँको तर्क छ ।
पहाडी जिल्ला अनुसार विकासको नीति बनाउन सुझाव दिनुहुँदै देउवाले जलस्रोत र स्थानीय स्रोत साधनको सही सदुपयोग गर्नुपर्ने बताउनु भयो ।
कांग्रेस कार्यकर्ताहरुलाई निरास नहुन आग्रह गर्दै सभापति देउवाले कांग्रेसले सवैलाई मिलाएर लैजाने र देश विकास गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,“सवै नेता कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुहोस् यसमा नै हामी सबैको हित छ ।”


सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले देशको विकासका लागि कांग्रेस एकजुट हुनु पर्ने बताउनु भयो ।
उहाँले जिल्लाको विकासका विभिन्न पक्षका बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो । सिद्धार्थ राजमार्ग र आँधीखोला हाईड्यामका लागि आफ्नो पहल भईरहेको उहाँको भनाई छ ।
केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको स्याङ्जामा कांग्रेसको संगठन बलियो र सशक्त रहेको बताउनु भयो । उहाँले आफ्ना बुवा विपि कोईरालाले “कांग्रेसको संगठन हेर्न स्याङ्जा जानु पर्छ ” भन्ने गरेको स्मरण गर्नु भयो ।
कार्यक्रममा सहमहामन्त्री जीवन परियार, काँग्रेस केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, प्रदीप पौडेल, किशोरदत्त बराल, केन्द्रिय सदस्य तथा नेपाल सरकार गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी,प्रदेश सभापति शुक्रराज शर्मा,प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारी, प्रदेश उपसभापति तथा पूर्व प्रदेश मन्त्री मेखलाल श्रेष्ठ,पूर्व सांसद मोहन प्रसाद पाण्डे,प्रदेश सांसद भोजराज अर्याल,पूर्व प्रदेश सांसद तथा युवा नेता भागवतप्रकाश मल्ल लगायतले पार्टीलाई सशक्त बनाउनयुवा पुस्तालाई विशेष स्थान दिनुपर्ने बताउनु भयो ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा रहेको सिमित स्रोत र साधनको प्रयोग गर्दै अगाडि बढिरहेको बताउनु भयो । कांग्रेस विधान अनुसार चल्ने पार्टी भएको भन्दै मुख्यमन्त्री पाण्डेले सवै पार्टीका सदस्यले आआफ्नो जिम्मेवारी र दायित्व पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस स्याङ्जाका उपसभापति केदार काफ्लेको स्वागतसँगै सुरु भएको जिल्ला सम्मेलनमा सचिव दामोदर लम्सालले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष जनक काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । काँग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधिसभा सदस्य राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गुरुप्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा प्रजातन्त्रका सेनानीहरुलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

 

 

Facebook Comments Box
TOP