गठबन्धनलाई अझै कसिलो बनाएर पाँच वर्ष अगाडि बढ्छ : मन्त्री गुरुङ

स्याङ्जा :
कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गठबन्धलाई अझै कसिलो बनाएर पाँच वर्ष अगाडि बढाउने बताउनुभएको छ । सत्तापक्षीय गठबन्धन दलतर्फका साझा उम्मेदवारहरुको परिचय एवम् मतदाता भेटघाट कार्यक्रमलाई शुक्रबार स्याङ्जामा सम्बोधन गर्नुहुँदै उहाँले गठबन्धनको महत्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष पूरै अगाडि बढाउने बताउनुभएको हो ।

“गठबन्धन चानचुने ढङ्गले अगाडि बढेको छैन” उहाँले भन्नुभयो, “यो गठबन्धनलाई देख्दा अरुलाई ईष्या, जलन भएको होला, यतिमामात्रै सीमित हुँदैन यो पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ ।” गठबन्धन सरकारले मुलुकलाई अप्ठ्यारोस्थितिबाट सहजतातर्फ ल्याएको दावी गर्नुहुँदै उहाँले मुलुकको समृद्धि र सुशासनकालागि पनि गठबन्धनले निरन्तरता पाउने बताउनुभएको हो ।

“कुनैपनि साथीले मत नबिगार्नुहोला, मत हाल्न जानिन भन्न पाईने छैन, त्यसो गरेमा जानी जानी नियत खराव भएर बिगारेको भन्ने बुझिन्छ” उहाँले भन्नुभयो, “गठबन्धनका साथीहरुलाई मत दिएर बिजयी बनाउनुहोला, एकमतले पनि तलमाथि भएमा केही न केही विचलन ल्याउँछ ।”

गण्डकी प्रदेशबाट आगामी राष्ट्रिय सभाकालागि गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका किरणबावु श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा र नेपाली काँग्रेसबाट पदमबहादुर परियार उम्मेदवार हुनुहुन्छ । अन्यबाट गोरखाका श्रेष्ठ, महिलाबाट पर्वतकी मनरुपा शर्मा र अपाङ्गता÷अल्पसङ्यकबाट तनहुँका पदमबहादुर परियार गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारहरु हुनुहुन्छ ।

माघ २ गते नवलपुरबाट सुरु भएको प्रचारात्मक अभियान आज स्याङ्जा आईपुगेको हो । अभियान नवलपुर, गोरखा, लमजुङ, तनहुँ हुँदै आज स्याङ्जा आईपुगेको राष्ट्रिय सभा सदस्य निर्वाचन ब्यवस्थापन उपसमितिका संयोजक विष्णुप्रसाद लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशमा नेपाली काँग्रेसको दुई हजार ७०४, नेकपा माओवादीको ९९४, नेकपा एकीकृत समाजवादीको ७२, राष्ट्रिय जनमोर्चा नेपालको ५७ मतभार रहेको छ । गण्डकी प्रदेशमा गठबन्धनको तीन हजार ८२७ मतभार छ भने नेकपा एमालेको दुई हजार ४५८ मतभार रहेको छ ।

Facebook Comments Box
TOP