‘प्रदेश खारेजी’ का पक्षधर राप्रपाका नेता अम्बरबहादुर विष्ट कोशीमा सभामुख चयन ।

ambarbahadur bista

काठमाण्डौ:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख चयन भएका छन्। प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि उनलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो।

यसरी सत्तारूढ र प्रतिपक्षी दलहरूको समर्थन पाएका विष्टलाई मंगलबारको प्रदेश सभा बैठकले सभामुख चयन गर्ने औपचारिकता पूरा गरेको हो।   उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा गरेकी छन्। सभामुख पदमा विष्टको एकल उम्मेदवारी परेको जानकारी दिँदै उपसभामुख दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन्।

राप्रपा सासद भक्तीप्रसाद सिटौला प्रस्तावक र अर्का सांसद प्रेमराज थाम्सुहाङ समर्थक रहेर विष्टले सभामुख पदमा उम्मेदवारी दिएका थिए।

झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। राप्रपा केन्द्रीय सदस्य विष्ट प्रदेश सभाको बैठकमा पटक–पटक ‘प्रदेश खारेजी’ का पक्षमा आफ्नो विचार राख्दै आएका नेता हुन्।
कोशी प्रदेशसभाको नेतृत्व गर्ने अवसर पाएका उनी प्रदेश सभाको तेस्रो सभामुख हुन्। यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा एमालेका प्रदीप भण्डारी पूरा कार्यकाल सभामुख बनेका थिए। प्रदेशको अहिलेको कार्यकालमा माओवादीका बाबुराम गौतम सभामुख बनेका थिए।

गएको साउन १६ मा तत्कालीन सभामुख गौतमले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन पदबाट राजीनामा दिएपछि प्रदेशको सभामुख पद खाली थियो। पाँच महिनादेखि रिक्त सभामुख पदमा चयन भएपछि विष्टले संविधानको परिधिभित्र रहेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्।

सभामुखमा निर्वाचित बनेपछि पार्टीको जिम्मेवारीबाट आफू अलग बन्ने बताउँदै विष्टले भने, ‘पार्टीको जिम्मेवारीबाट अलग भएपछि म सभामुखको भूमिकामा संविधानले दिएको सीमाभित्र रहेर काम गर्नेछु।’ विष्टलाई कोशीको सभामुख बनाउन नहुने आवाज पनि राप्रपाभित्र चर्को रूपमा उठेको थियो। खासगरी महामन्त्री धवलशमशेर जबरा लगायतका नेताहरूले प्रदेश खारेजीको आन्दोलन घोषणा गरेपछि सभामुख लिन नहुने मत राखेका थिए।

तर, कोशी संसदीय दलका नेतासमेत रहेका नेता भक्तिप्रसाद सिटौला सहितका नेताहरू भने सभामुख नलिए सांसद भएर पनि बसिरहन नहुने अडानमा थिए। ‘प्रदेशको सांसद बन्न हुने, सभामुख बन्न किन नहुनेरु,’ सिटौलाले बारम्बार भन्दै आएका थिए, ‘कि सांसदबाटै राजीनामा दिनुपर्‍यो। होइन भने कोशीमा सभामुख लिनबाट रोक्नुभएन। हामी लिन्छौं।’ नभन्दै राप्रपाले अब प्रदेश सभाको नेतृत्व गर्ने मौका पाएको छ।

कोशीको सभामुख बनेका विष्टको राजनीतिक जीवनको सुरुआत वामपन्थी दलबाट भएको थियो। उनी २०२८ सालतिर झापामा वाम राजनीतिमा सक्रिय थिए। त्यसबेला वाम दल छोडेर पन्चायत प्रवेश गरेका उनी २०३३ सालमा जुरोपानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष भएका थिए। २०३२ मा पञ्चायत प्रवेश गरेको एक वर्षभित्रै उनी वडाध्यक्ष भएका थिए। वडाध्यक्ष भएपछिको अर्को वर्ष जुरोपानी ९हाल गौरादह० को उपप्रधानपञ्च पनि भए। उपप्रधानपञ्च एक वर्ष बनेका विष्ट त्यसपछि झन्डै एक दशक जिल्ला पञ्चायतको सदस्य पनि भए।

२०४६ को परिवर्तनपछि गठित पूर्वपञ्चहरूको दल राप्रपामा आवद्ध उनी त्यसको पहिलो जिल्ला सचिव बनेका थिए। २०५१ को त्रिशंकु संसद्मा शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा उनी सहकारी विकास बोर्डको सदस्यसमेत बनेका थिए। राप्रपा झापाको आठ वर्ष पार्टी अध्यक्ष रहेका उनी अहिले पार्टी केन्द्रीय सदस्य छन्।

संघीयताको कडा विरोध गर्दै आएका विष्टले प्रदेशसभाको नेतृत्व गर्ने अवसर आउनुका पछि कोशीको सत्ता गठबन्धन प्रतिकूल गणित सबभन्दा ठूलो कारण बनेको छ। गठबन्धनले भोगिरहेको यही गणितीय कठिनाइ विष्टका लागि प्रदेश सभाको नेतृत्व गर्ने अवसर बनेको हो । सत्ता गठबन्धनको ठूलो दल काङ्ग्रेससग कोशीमा २९ जना सासद छन। माओवादीका १३, एकीकृत समाजवादीको ४, जसपाको १ गरी गठबन्धन दलहरुसग ४७ मत छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत नै आवश्यक पर्छ।

सत्ता गठबन्धनलाई सघाउने शर्तमा कोशीमा सभामुख पाएको राप्रपाले गठबन्धनलाई सघाएपछि गठबन्धनका पक्षमा ५३ मत हुने भएको छ। मुख्य विपक्षी एमालेसित उपसभामुखसहित ४० जना सासद छन् । राप्रपा नेताहरुले प्रदेशको सरकारमा तत्कालै नजाने एक महिनापछि त्यसबारे सोच्ने बताउदै आएका छन।

 

Facebook Comments Box
TOP