वालिङ वातावरणमैत्री नगरपालिका बन्दै ।

मणी प्रसाद अर्याल/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाई वातावरणमैत्री नगरपालिका बनाउने बताउनुभएको छ । बुधबार आयोजित नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू उपयोग योजना, भवन मापदण्ड तथा कार्यान्वयन योजनाको तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठीमा नगरप्रमुख खाँणले वातावरणीय अध्ययनबिनाका योजनाहरु अपूरा हुने उल्लेख गर्नुभएको हो ।
‘बाढी,पहिरो लगायत भू–क्षयका प्रकोपहरुको जोखम वालिङका नागरिकहरुलाई धेरै नै छ । विगतका योजनाहरु जे जसरी भए,ती सबैलाई आवश्यक अध्ययन र परिमार्जन गरी हामी वातावरणीय प्रभावलाई न्यून हुने गरीमात्र विकास निर्माणका कामहरु गर्छौँ,’नगरप्रमुख खाँणले भन्नुभयो–‘विकास निर्माणका कामहरु गर्दा हुने असरलाई न्यूनिकरण गर्नको लागि हामी कटिवद्ध छौँ ।’


युएनडीपीको प्राविधिक सहयोगमा तयार पारिएको जोखिम संवेदनशील नक्साहरुको प्रभावकरीतालाई अध्ययन गरी कार्यपालिकाको बैठकबाट पारित गरी योजना तर्जुमा गरिने खाँणले जानकारी दिनुभयो ।
उहाँले भूउपयोग योजनाको प्रतिवेदनले नगरको भौतिक वातावरण सबल बनाउन सहयोग गर्ने उल्लेख गर्दै स्मार्ट नगरको योजनालाई सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
गोष्ठीमा नगर उपप्रमुख कविता तिवारी गैह«ेले समृद्ध नगरका योजनाहरु तर्जुमा गर्दा भूबनोट,जोखिमका अवस्थाहरु लगायतका पक्षहरुलाई मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो ।‘भूबनोटलाई नहेरीकन बनाएका योजनाहरुले वातावरणमा धेरै नकारात्मक प्रभाव पर्नै भएकाले आगामी दिनहरुमा नगरका योजनाहरु बनाउँदा प्रभाव मूल्याङ्कन गरेर मात्र बनाउँछौँ ’ उपप्रमुख तिवारीले भन्नुभयो–‘प्राकृतिक सम्पदाको बचावट र तिनको उपयोगबाट नागरको आर्थिक ,भौतिक लगायताका पक्षहरु सबल बनाउँछौँ ।’
युएनडीपीको प्राविधिक सहयोगमा तयार पारिएको प्रतिवेदनको आधारमा भू–क्षयका जोखिम न्यूनिकरणको लागि आवश्यक योजनहरु बनाएर कार्यान्वयन गरिने उपप्रमुख तिवारीको भनाई छ ।


प्रतिवेदनले वालिङका भू–क्षयका घटनाहरुमध्ये ८६ प्रतिशत घटनाहरु सडक निर्माणका कारण भएको देखाएको छ । भिरालो जमिनमा वातावरणीय प्रभावको क्षतिलाई मूलयाङ्कन नगरी सडक निर्माण गर्दा पहिरोले धनजनको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँण,यूएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्याल,यूएनडिपीका पार्टफोलियो म्यानेजर प्रज्ञानम यलम्वर राई,विज्ञहरु डाक्टर विजयकृष्ण श्रेष्ठ,निरोज तिमिल्सिना,नेपाली कांग्रेसका नगर सभापति नेत्र प्रसाद पाण्डे,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद गैह्रे लगायतले बोल्नु भएको थियो ।

 

Facebook Comments Box
TOP