रैथाने बालि जोगाउन वालिङमा बीउ बैंकको स्थापना ।

राधाकृष्ण डुम्रे/वालिङ :
स्याङजामा रैथाने बालीलाई जोगाउन बीउ बैंक (बीउबीजन संकलन तथा संरक्षण केन्द्र)को स्थापना गरिएको छ । प्छिल्लो समय परम्परागत बालीहरु लोप हुँदै जानथालेको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका–८ मा बीउ बैंकको स्थापना गरिएको हो ।
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले वालिङ नगरपालिका,संयुक्त राष्ट्रसंघीय विकास संस्था(युएनडिपी),दियालो संस्था लगायतको सहकार्यमा बीउ बैंकको स्थापना गरेको हो ।


बीउ बैंकको युएनडिपी नेपालका उपआवासीय प्रतिनिधि(डिआरआर) जुलियन्स सेभिलियर्ड ,वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण,निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै डिआरआर सेभिलियर्डले परम्परागत खेती प्रणलीको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो । उहाँले भन्नुभयो,“परम्परागत बीउको संरक्षण र खेती सँगै लैजानु पर्छ ।”
वालिङ नगरपालिकाले लिएको सुशासन,समावेसी आर्थिक विकास र हरित वातावरणमैत्री सहरको अभियान युएनडिपीको पनि प्राथमिकताको क्षेत्रहरु भएको भन्दै सेभिलियर्डले सहकार्यलाई अझै मजवुत बनाउने बताउनु भयो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खाँणले रैथानेबालीको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले रैथानेबालीको संरक्षण अभियानलाई दिगो बनाउन आवश्यक रहेको बताउनु भयो । सहकारी मार्फत गरिएको अभियानलाई दीर्घकालिन योजनाका साथ अगाडि बढ्नु पर्नेमा उहाँको जोड छ ।


वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रे, निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँण लगायतले बीउ बैंकको प्रभावकारिता र आवश्यक्ताका बारेमा बोल्नु भएको थियो ।
सहकारीले स्याङजा जिल्लाबाट लोप हुँदै गइरहेको रैथाने बालीको ५६ किसिमका बीउहरु संकलन गरिसकेको संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । अन्य बीउहरुको पनि पहिचान र संकलन गर्ने काम भईरहेको गुरुङको भनाई छ ।
सहकारीले यो बर्ष पाखे जर्नेली, अनदी, कालो झिनुवा, रातो झिनुवा र स्थानीय जेठोबुढो गरी पाँच किसिमका धानहरुलाई रोपणका लागि सहयोग गरेको थियो । जिल्लाका विभिन्न ठाउँका किसानलाई लोप हुन लागेका धानहरु रोप्नका लागि सहयोग गर्ने, विउ उपलव्ध गराउने काम गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP