विमानस्थलमा हुने तस्करी जालो तोड्दै सरकार : मन्त्री धनराज गुरुङ
राधाकृष्ण डुम्रे
वालिङ, पुस १३ गते । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले त्रिभुवन विमानस्थलमा भइरहेको तस्करीको जालो तोड्न सरकार सफल हुँदै गएको बताउनुभएको छ । विमानस्थलमा पहिलेदेखि नै धेरै प्रकृतिको तस्करी हुँदै आएको छ, यो सरकारले त्यो सबै तस्करी तोड्न सफल हुँदै गएको छ, उहाँले भन्नुभयो ।
नेपाल प्रेस युनियन स्याङ्जाले शुक्रबार वालिङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भ्रष्टाचारलाई जरैबाट उखेल्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सदियौंदेखि भ्रष्टाचारले नेपाललाई ग्रस्त गराएको भन्दै मन्त्री गुरुङले यसबाट पार गराउनु सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो ।
स्याङ्जाको विकासमा प्रतिबद्ध रहेको भन्दै मन्त्री गुरुङले सिद्धार्थ राजमार्गको स्त्तरोन्नति आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्ग जीर्ण र साँघुरो छ, आगामी चार वर्षभित्र सडक विस्तार गरेरै छाड्नेछु ।”
मन्त्री गुरुङले आँधीखोला हाइड्याम, आँधीखोला र ज्याग्दी खोला करिडोर निर्माण अपरिहार्य रहेको बताउनुभयो । सडकलाई राम्रो र सहज बनाउने पहल गर्दै आएको उहाँको भनाइ छ ।
न्याय सम्पादनमा हुने ढिलासुस्ती र परम्परागत शैलीमा परिवर्तन गर्न आफू लागिरहेको भन्दै मन्त्री गुरुङले प्रलोभनमा परेर फैसला दिने न्यायाधीशलाई पनि कारबाही गरिने बताउनुभयो ।
संसदीय समितिको अस्वस्थ प्रतिस्पर्धाले काम गर्न असहज रहेको भन्दै मन्त्री गुरुङले एनसेल, सुनलगायतका घटनामा समितिपिच्छे नै फरकफरक निर्देशन दिने गरेको जानकारी गराउनुभयो । यसमा समितिहरुको अधिकार र क्षेत्र स्पष्ट हुनुपर्नेमा उहाँको जोड छ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति समेत रहनुभएका गुरुङले न्यायाधीश नियुक्ति गर्दा पार्टीगतभन्दा सक्षमतालाई जोड दिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, क्षेत्रीय सभापति दिलीपप्रताप खाँण, जिल्ला सचिव तथा गल्याङका मेयर गुरुप्रसाद भट्टराई, नगर सभापति नेत्रप्रसाद पाण्डे, प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेलगायतले जिल्लाको वस्तुस्थिति र तत्कालै गर्नुपर्ने कार्यका बारेमा जानकारी गराउनुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


