स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्दै वालिङ,माझकोटमा स्वास्थ्य शिविर ।

मणी प्रसाद अर्याल,
मंसिर १४,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिका स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गइरहेको छ । सुत्केरी महिलाहरुको शल्यक्रिया,पालिकाभित्रका नागरिकहरुको निशूल्क क्षयरोग स्क्रिनिङ,निशूल्क आँखा जाँच तथा शल्यक्रिया लगायतका कामहरु गर्दै आइरहेको नगरपालिकाले वडागत रुपमा नर्सहरु परिचालन गरी नागरिकहरुको निरन्तर स्वास्थ्यजाँच गर्दै आइरहेको छ ।
नगरपालिकाले बिहिबार वालिङ–३ माझकोटमा रहेको माझकोट स्वास्थ्यचौकीमा बृहत स्वास्थ्यजाँच शिविर सञ्चालन गरेको छ ।
ग्रामिण क्षेत्रका नागरिकहरुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै उनीहरुलाई सहज स्वास्थ्यसेवा प्रवाह गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको हो ।
शिविरमा निशुल्क वृहत प्रजनन स्वास्थ्य,आँखा शिविर,पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायतका परिक्षण र उपचार गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै शिविरमा महिलाहरुको आँङ खस्ने समस्या,यौन रोग उपचार तथा एचआइभी परिक्षण,ग्रामिण अल्ट्रासाउण्ड र दन्त परिक्षण गरिएको छ ।
शिविरको उद्घाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले नागरिकको स्वास्थ्यप्रति नगरपालिका अत्यन्तै सचेत रहेको बताउनुभयो ।


उहाँले नागरिकले आफूहरुलाई दिएको जिम्मेवारी सार्थक रुपले बहन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनप्रतिनिधिहरुले भाषणमा भन्दा काममा प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
नगरप्रमुख खाँणले वालिङ नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै नगरमा उपलब्ध स्रोत,साधन र जनशक्तिको उपयोग गरी देशैभरीमा नागरिकमुखी काम गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले शिविर सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाको निरन्तर कार्यक्रम रहेको बताउनुभयो ।
नागरिकलाई सेवा प्रदान गर्न आफूहरु निर्वाचित भएको स्मरण गर्दै स्वास्थ्य,विकास निर्माण तथा अन्य विविध सेवाहरु नागरिकको घरदैलोमा नै प्रवाह गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो ।


स्वास्थ्य क्षेत्रमा नगरले नागरिकमूखी कार्यक्रमहरु तय गरेको उल्लेख गर्दै स्वस्थ नागरिकहरु भए नगरको समृद्धि धेरै पर नभएको स्पष्ट पार्नुभयो । नागरिकको स्वास्थ्य अब्बल बनाउने जिम्मेवारी नगरले लिने प्रतिवद्धता व्यक्त गर्दै उपप्रमुख तिवारीले सबै मिलेर नगरपालिकालाई आर्थिक,सामाजिक तथा सर्वपक्षीय रुपमा समृद्ध बनाउन आग्रह र विश्वास व्यक्त गर्नुभयो ।
शिविरमा जम्मा १ सय ३१ जना नागरिकहरुले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानरकारी दिनहुभयो ।
पाण्डेका अनुसार ९३ जनाले आँखा सम्बन्धी सेवा लिएका छन् । त्यस्तै ६७ जनाले दाँत तथा ५० जनाले स्त्रीरोगको सेवा लिएका छन् ।

 

Facebook Comments Box
TOP