विकासमा राजनीति नगराै‌ : मन्त्री गुरुङ

कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ ।
निर्वाचनका बेला भिन्न भिन्न पार्टीबाट प्रतिस्पर्धा गरेतापनि विजयी भईसकेपछि सबैको साझा भएर काम गर्न सके मात्रै विकासले गति लिने उहाँले बताउनुभएको हो ।
स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले हिजो वालिङमा आयोजना गरेको पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विकासमा राजनीति घुसाउन नहुनेमा जोड दिनुभएको हो ।
“विकासमा राजनीति गर्नहुन्न भन्ने मान्यताको पक्षधर हुँ” उहाँले भन्नुभयो, “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।”
कहिलेकाँही विकासका नाममा राजनीति गर्ने र राजनीति कै कारण विकास ठप्प हुने गरेका उदाहरणहरु प्रशस्तै देखिने गरेको उहाँको भनाई थियो ।
उहाँले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरुप काम गर्न प्रतिवद्धत रहेको बताउनुभयो ।
“तीन तहका सरकारहरुबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्यहरु हुन नसकेका कुराहरु आउने गरेका छन्” उहाँले भन्नुभयो, “केन्द्रको जनप्रतिनिधिकोतर्फबाट म प्रदेश र स्थानीय तहहरुसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।”
निर्वाचनका बेला मतदातामाझ गरेका प्रतिवद्धताहरुलाई पाँच वर्षको अवधिसम्ममा पूरा गरेरै छाड्ने प्रतिवद्धता उहाँले जनाउनुभएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वकासाथ निरन्तर लागिरहेको बताउनुभएको छ । उहाँले केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधिहरु नागरिकले महशुस हुने गरी काम गर्ने दावी गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दामाथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान सदस्य मोहनप्रसाद रेग्मी, निवर्तमान नगरप्रमुख दिलीपप्रताप खांँण, कृषि मन्त्रालयका सहसचिव जगन्नाथ तिवारी, सिटिईभिटीका पूर्व प्रमुख अग्निप्रसाद काफ्ले, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी प्रमुख त्रिलोचन पंगेनी, कृषि विज्ञ टेकप्रसाद लुईटेल, काठमाडौं विश्व विद्यालयका प्राध्यापक डाक्टर दिपक सुवेदी, नेपाल टेलिभिजनका प्रधान सम्पादक शालिक सुवेदी, लेखनाथ पाण्डे, नेपाली सेनाका पूर्व रथी पवनबहादुर पांडे, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाली कांगे्रस स्याङ्जाका कार्यवहाक सभापति केदार काफ्ले, नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, माओवादी केन्द्रका प्रकाश न्यौपाने, राप्रपाका युक्तप्रसाद तिवारी, एकीकृत समाजवादीका जगदिशप्रसाद गैह्रे, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, गरिमा विकास बैंक लिमिटेडका कम्पनी सचिव माधवप्रसाद उपाध्याय, स्त्री रोग विशेषज्ञ डाक्टर गिरीधारी शर्मा, संस्कृतिविद नारायणप्रसाद भण्डारी, दलित संघका लिलबहादुर रनपाललगायतले आ–आफ्ना सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
वालिङको विकासकालागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकहरुसँग भएका अमूल्य अनुभवहरु, सल्लाह सुझावहरुलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । नगरको विकासमा सबैको भावनालाई समेटेर सामूहिक ढंगबाट छलफल गर्नकालागि अन्तरक्रियाले महत्वपूर्ण टेवा पुगेको उहाँले बताउनुभयो ।
वालिङमा जन्मेर संघ संस्था तथा कार्यालयहरुमा लामो समय अनुभव संगाल्नुभएका ब्यक्तिहरुकाबीच सामूहिक छलफल तथा अन्तरक्रियाबाट निस्केको निचोडलाई नगरपालिकाले सम्पत्तिकोरुपमा ग्रहण गरी कार्यान्वयनको चरणमा लैजाने उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो । विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नुभएका विषय विज्ञहरुले दिनुभएको सुझाव र राजनीतिक नेतृत्वको प्रतिवद्धतासहित अगाडि बढ्दा वालिङमा उपलब्धीहरु देखिने उहाँले दावी गर्नुभयो ।
पालिकाले विभिन्न क्षेत्रमा लामो समय अनुभव बटुलेका राजीनितिक नेतृत्व, कर्मचारी, विषय विज्ञहरुलाई वालिङमा आमन्त्रण गरी सामूहिक छलफल गरेको हो । कार्यक्रममा नगर प्रमुख कृष्ण खांँणले नगरपालिकाको विगत, वर्तमान र भावी योजना तथा चुनौतिहरुको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख कृष्ण खांँणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख कविता तिवारी गैह«ेले र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले गर्नुभएको थियो ।
Facebook Comments Box
TOP