एमाले बागमती अधिवेशनः नेतृत्व चयनको प्रक्रिया आजबाट ।

काठमाण्डौ:
नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया आजबाट सुरू हुँदै छ। असोज ८ गतेबाट सुरू भएको अधिवेशनको तेस्रो दिन बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता हुने छ।
मतदान बिहीबार बिहानलाई निर्धारण गरिएको छ। मंगलबारको बन्दसत्र प्रज्ञा भवनमा भएको थियो। निर्वाचन कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, ललितपुर, च्यासलमा हुने एमालेले बताएको छ।
बिहान ८ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। दाबी विरोधपछि बिहान ९ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ११ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्टयाइएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
अपराह्न ४ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र दाबी विरोधसहित साँझ ५ बजे अन्तिम सूची निकालिने तामाङले बताए।
को-को छन् अध्यक्षको आकांक्षी?
संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो। अधिवेशनमा दुई केन्द्रीय सदस्यसहित ४ जना आकांक्षी मैदानमा देखिएका छन्। नेतृत्व चयनमा सर्वसम्मतिका लागि प्रयास भए पनि चुनावै हुने देखिएको एक नेताले बताए।
प्रदेश अध्यक्षको दौडमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल अगाडि देखिएका छन्। ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। रामेछापको तीन पटक पार्टी नेतृत्व सम्हालिसकेका उनी अहिले केन्द्रीय सदस्य छन्। रामेछापको संसदीय निर्वाचनमा चारपटक पराजित भएका उनी २०७४ को निर्वाचनमा भने प्रदेश सभामा निर्वाचित भएका थिए।
कृष्ण दाहाल पनि भूगोलमा लामो समय पार्टी प्रमुख भएर काम गर्नेमा पर्छन्। मकवानपुरबाट २०४८, २०५१, २०५६, २०७४ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका उनले तीन पटक चुनाव जिते। २०५१ सालमा कमल थापासँग पराजित भएका थिए।
प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा अर्थ समितिको सभापतिसमेत थिए, उनी। अहिले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका दाहालले नेतृत्व सहज ढंगले चयन हुने बताए।
‘पार्टी नेतृत्व यसमा निरपेक्ष नै रहन्छ, बस्नु पनि पर्छ। सकेसम्म सर्वसम्मतिको प्रयास हुन्छ। नभए उम्मेदवारहरू बसेर सहमतिको प्रयास गर्छौं। सहमति भएन भने प्रतिनिधिहरूले आफ्नो नेता आफैं छान्नुहुन्छ। पार्टीको विधि, पद्धति यही हो,’ उनले भने।
निवर्तमान अध्यक्ष केशव पाण्डे पनि नेतृत्वको आकांक्षी हुन्। पार्टीको एउटा पंक्ति उनको नाममा सर्वसम्मतिको प्रयास पनि गरिरहेको छ। तर, केही जिल्ला अध्यक्षबाहेक उनको पक्षमा नदेखिएकाले उनको नाममा सर्वसम्मतिको सम्भावना नरहेको एक नेताले बताए।
स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलगायत केही नेताको चाहना सानुकुमार श्रेष्ठ पनि देखिएको छ। अघिल्लो कार्यकालमा बागमती प्रदेशको सभामुख रहेका उनी पार्टीको केन्द्रीय कमिटीमा छैनन्। उनी भूगोलबाटै प्रतिनिधि छानिएर आएका छन्। उपत्यकाका केही नेताहरूको चाहना उनलाई सर्वसम्मत अध्यक्ष बनाउन पाए हुन्थ्यो भन्ने पनि रहेको एक पदाधिकारीले बताए।
तर, चुनावै हुँदा कैलाश ढुंगेल र कृष्ण दाहालका बीचमा प्रतिस्पर्धा हुने ती पदाधिकारीको भनाइ छ। एमाले बागमती प्रदेशमा ४ सय ७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ। १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन्।
अधिवेशनले ५० प्रतिशतभन्दा बढी आकार घटाउने छ। अबको अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिवसहित २४० सदस्यीय कमिटी निर्वाचित गर्ने छ। प्रदेश कमिटी निर्वाचित गर्दा ७५ आधार सदस्य हुने छ। प्रतिनिधि सभाका ३३ निर्वाचन क्षेत्रबाट ५–५ जनाका दरले निर्वाचित हुँदा २ सय ४० सदस्यीय पुग्ने छ।
जिल्ला अध्यक्ष प्रदेशको पदेन सदस्य हुने छन्। प्रदेश अध्यक्ष पोलिटब्युरोको पदेन सदस्य हुने छन्।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…