११ र १२ का कक्षा दिउसो चलाउन पुतलीबजारको निर्देशन : अटेर गरे कारबाही

स्याङ्जा :
स्याङ्जाको पुतलीबजार नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरुका कक्षा ११ र १२ मा हाल बिहानी सत्रमा सञ्चालित कक्षाहरु अनिवार्य रुपमा दिउसोमा सञ्चालन गर्न निर्देशन दिएको छ । आज नगरपालिकाद्वारा एक सूचना प्रकाशित गरी सबै खालका सामुदायिक, संस्थागत र अन्य शैक्षिक संस्थाहरुले बिहानी सत्रमा चलाउँदै आइरहेका सबै कक्षाहरु दिवा सत्रमा चलाउन निर्देश गरेको हो ।
हाल बिहानी सत्रमा कक्षा ११ र १२ सञ्चालन गरिरहेका विद्यालयहरुले सरकारद्वारा निर्धारित पाठ्यभार तथा पाठ्यघण्टी पूरा नगरेकाले तोकिएको पाठ्यभार अनुसार पढ्न पाउने विद्यार्थीको अधिकारलाई सुरक्षित राख्न यस्तो निर्णय गर्नुपरेको पालिकाद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ । नगरपालिकाभित्रका सबै विद्यालयहरुलाई सम्बोधनसहित प्रेषित पत्रमा नगरपालिकाको निर्देशनलाई आलटाल गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने समेत बताइएको छ ।
कक्षा ११ र १२ का कक्षाहरु दिवा सत्रमा नै निर्धारित पाठ्यभार अनुसार पढाउनुपर्ने र तत्काल व्यवस्थापनका लागि जटिल स्थिति आएका विद्यालयहरुका कक्षा १२ का हकमा भने आगामी वर्षबाट यो नियम लागु हुने पालिकाले जनाएको छ । नगरपालिकाको उक्त निर्णयसँगै हाल बिहानी सत्रमा कक्षा सञ्चालन गरिरहेका सामुदायिक र संस्थागत विद्यालयहरुका कक्षा ११ र १२ सम्पूर्ण सङ्कायका सबै कक्षाहरुको पढाइ आगामी भदौ १६ बाट दिउसोमा सञ्चालन हुने भएको छ ।
नगरपालिकाले एकरुपताका लागि तथा अभिभावक र समुदायका विभिन्न समयमा आइरहेका गुनासाहरुलाई सम्बोधन गर्न यस्तो निर्णय गरिएको पुतलीबजारका मेयर तुलसीराम रेग्मीले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यो निर्णय विद्यार्थी र अभिभावकको अधिकारको लागि मात्र होइन, दिउसोमा सञ्चालन गर्नुपर्ने कानुनी प्रावधानको सम्मान गर्न पनि हो ।’
पुतलीबजार नगरपालिकाले बिहानीका कक्षालाई दिउसोका सत्रमा चलाउनका लागि शिक्षक सङ्घ, सङ्गठन तथा पेब्सनका पदाधिकारीहरुलाई बोलाएर विभिन्न चरणमा छलफल गरी यो निर्णय गरेको पालिकाले जनाएको छ ।
पुतलीबजारको यो निर्णयपछि सबै विद्यालयहरुको पठनपाठन पाठ्यभार र पढाइ हुने समयमा एकरुपता आउने भएको छ । तर सिटिइभिटीद्वारा सञ्चालित कक्षाहरुका हकमा भने बिहानी सत्रमा पनि सञ्चालन गर्न पाइने व्यवस्था छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…