आगामी बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्छौँ–नगरप्रमुख खाँण

krishna Khand waling 13

मणी प्रसाद अर्याल,
असार ७,वालिङ ।
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
बिहिबार शिव पार्वती एकिकृत खाद्यतत्व व्यवस्थापन कृषक पाठशालाले वालिङ –१३ पाठखोलामा आयोजना गरेको कृषक दिवस समारोहमा नगरप्रमुख खाँणले कृषिक्षेत्रको विकासबाट नै सुखी नागरिक समृद्ध नगरपालिकाको नारा सार्थक हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख खाँणले कृषिक्षेत्रको विकासको लागि कृषकहरुमा बजेटको अभाव भएको गुनासो आउने गरेकोले ती समस्या तथा गुनासाहरु तथा समस्याको समाधान हुने गरी बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–‘म पनि किसान नै हुँ, कृषकहरुको पीडा तथा गुनासो मलाई राम्रोसँग अवगत भएकाले किसानका समस्या समाधान गर्न मेरो कार्यकालमा अनुभूत हुने गरी काम हुन्छ ।’
वालिङ क्षेत्रमा किसानहरुको अवस्था सुधारको लागि नगरपालिकाले आवश्यक बजेट तथा नीति तर्जुमाको व्यवस्था गरेको भएपनि सार्थकताको लागि किसानहरुको सहभागिता र समर्पण सदैव आवश्यक रहेको नगर प्रमुख खाँणको भनाई छ ।
तालिम,गोष्ठी र सेमिनार लगायतका शीर्षकमा नगरमा धेरै कार्यक्रमहरु हुने गरेकोमा तिनको सार्थकतामा प्रश्न उठेकोप्रति आफ्नो ध्यान आकर्षण भएको उल्लेख गर्दै नगर प्रमुख खाँणले आगामि बजेटमा आवश्यकताको आधारमा मात्र तालिमको व्यवस्था गरिने स्पष्ट पार्नुभयो ।

ipm waling 13 syangja aandhikhola khabar
‘तालिम तथा सेमिनार लगायतका शीर्षकमा नगरको धेरै बजेट खर्च हुने गरेको छ ’नगरप्रमुख खाँणले भन्नुभयो–‘यस्ता तालिम तथा सेमिनारहरुको आचित्यता तथा सार्थकताको आधारमा मात्र बजेट विनियोजन हुन्छ ।’
२०७९ फागुन २७ गतेदेखि सुरु भएको तालिम २० हप्तासम्म चलेको थियो । गण्डकी प्रदेशको एकिकृत खाद्यतत्व व्यवस्थापन इकाई(आईपीएनसी)को आर्थिक सहयोगमा २० हप्तासम्म सञ्चालित तालिममा माटोको अवस्था,माटोको प्रकृतिअनुसारको खेती प्रणाली लगायतका विषयमा कृषकहरुलाई तालिम प्रदान गरिएको थियो ।

 

Facebook Comments Box
TOP