जिल्ला भर फैलियो ठेउलाको संक्रमण : सचेत रहन स्वास्थ्य कार्यालयको आग्रह ।

वालिङ,जेठ ३० गते ।
सोमवार परेको बर्षाले उखरमाउलो गर्मी कम बनाएको छ । पछिल्लो समय गर्मीसँगै स्याङ्जा जिल्लाका बिभिन्न भागमा ठेउला (चिकन पक्स) रोगको प्रकोप देखिएको छ ।
पहिलो पटक वालिङमा देखिएको ठेउला जिल्लाका वालिङ, पुतलीबजार, कालीगण्डकी, चापाकोट लगायतका पालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालमा समेत ठेउलाका ६ विरामी उपचारका क्रममा रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिका १ का रोशनी माविमा १३ जना विद्यार्थीमा ठेउला देखिएको छ । यस्तै चापाकोटको जनजागृती माविमा अध्ययनरत ६ जना विद्यार्थीमा पनि ठेउला देखिएको स्वास्थ्य प्रमुख शर्माले बताउनु भयो ।
कालीगण्डकी गाउँपालिकाको विर्घाका एक विद्यार्थीमा देखिएको छ भने अन्य विद्यालयका विद्यार्थीहरुमा पनि यसको प्रकोप देखिएको हुन सक्ने स्वास्थ्य प्रमुख शर्माको भनाई छ ।
जिल्लामा यस रोगबाट बच्नका लागि आवश्यक सतकर्ता अपनाईएको उहाँले बताउनु भयो, उहाँले भन्नुभयो,“रोगको संक्रमण जिल्लाभर फैलिए पछि हामीले विद्यालयहरुलाई सचेतनाका लागि अनुरोध गरेका छौं भने स्वाथ्यकर्मीहरु मार्फत जनचेतना जगाउने काम गरिरहेका छौं ।”
यसैवीच समुदायमा संक्रमण फैलन नदिनका लागि एक हप्ताका लागि बन्द गरिएको वालिङ १२ को विद्यालय खुलेको छ भने अवस्था पनि सामान्य हुँदै गएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनु भयो ।
रोगको संक्रमण देखिएका विद्यार्थीहरुमा एउटै खालका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वोरो आउने समस्या देखिने गरेको गह्रौँ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकालको भनाई छ ।
रोग सरुवा भएकाले सामाजिक दुरी कायम गरी हावाबाट बच्न आग्रह गरिएको छ । समुदायमा सचेतना लगाउने, सावधानी अपनाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्याङ्जामा ठेउला हुनेहरूको रगतको नमुना प्रादेशिक प्रयोगशाला र राष्ट्रिय प्रयोगशालमा समेत पठाइएको छ । ठेउला भएपछि देखिने जटिलता आउनु अघि नै सचेत गराउनका लागि गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालय र स्थानीय पालिकाहरू क्रियाशील भएको जनाएको छ ।
ठेउलाले साना बालबालिकालाई दुख दिन्छ । त्यसबाहेक वयस्क, वृद्धवृद्धालाई समेत यसले छाड्दैन । डा.ढकालका अनुशार ठेउला बेरिसेला जोस्टर नामको भाइरसको संक्रमणले हुन्छ, जो गर्मी याममा बढी सक्रिय हुने गर्दछ । यसले ८ वर्षदेखि १५ वर्ष उमेर समूहमा बढी आक्रमण गर्छ ।
परिवारको एउटा सदस्यमा ठेउला देखिना साथ अर्कामा त्यो सर्ने सम्भावना बढी हुन्छ । त्यसैले यसबाट बच्नका लागि विशेष सावधानी अपनाउनु पर्ने उहाँको भनाई छ ।

तस्विर : रोशनी माविका शिक्षकहरुलाई ठेउला रोग र यसबाट विद्यार्थीलाई बचाउने उपाय बारे जनाकराी गराउदै स्वास्थ्यकर्मी ।

Facebook Comments Box
TOP