शैक्षिक सुधारका लागि वालिङमा बृहत अन्तरक्रिया

मणि प्रसाद अर्याल,
बैशाख ७, वालिङ ।
शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि स्याङ्जाको वालिङमा बृहत अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाको आयोजना र खबर एजुकेशन काठमाडौको सहजीकरणमा विहिबार शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि बृहत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
शैक्षिक सुधारका लागि वालिङ नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्षहरु र शैक्षिक व्यक्तित्वहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम भएको हो ।


खबर एजुकेशनका वरिष्ठ शैक्षिक पत्रकार लक्ष्मीप्रसाद ढकालले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । विद्यालयमा विद्यार्थीहरुको अवस्था, अभिभावकहरु र विद्यालय व्यवस्थापन समितिबीचको सम्बन्ध लगायतका विषयमा अन्तरक्रिया भएको हो ।
आयोजकले दिएको विषयवस्तुको विभिन्न १० वटा समूह बनाएर सहभागीहरुको धारणा लिइएको थियो । सहभागीहरुबाट प्राप्त धारणामाथिको टिप्पणीसहित कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका प्राध्यापक डा.विद्यानाथ कोइरालाले गुणस्तरसँगै मानक बन्न आग्रह गर्नुभयो । पूर्खाको, आधुनिक समय र केटाकेटीको भावनाको समिश्रण गरेर मानक बन्नुपर्ने प्राध्यापक डा. कोइरालाले औंल्याउनुभयो । उहाँले स्थानीय स्रोत, साधनको खोजी गर्नुपर्ने र बाहिरका मान्छेसँग जोडिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । वालिङमा राम्रो गर्ने विद्यालय कुन कुन हुन््, व्यवस्थापन समिति कति छन् भन्ने अभिलेखिकरण गर्न उहाँको सुझाव छ । अहिले प्राविधिक शिक्षामा जोड दिन र पढाउने कला र तरिका बदल्नुपर्ने प्राध्यापक डा. ढकालको भनाई छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी गैह्रेले वालिङको शैक्षिक गुणस्तर वृद्धिका लागि प्रारम्भिक चरणको रुपमा अन्तरक्रिया कार्यक्रमलाई अगाडि सारिएको बताउनुभयो । उहाँले वालिङको शैक्षिक उन्नयनमा नगरपालिकाले योजना बनाएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । वालिङ नगरपालिकाका शैक्षिक व्यक्तित्व र सरोकारवालाहरुका लागि बृहत अन्तरक्रिया कार्यक्रमका सहजकर्ताहरुबाट सिकाईको अवसर मिलेको उप प्रमुख गैह्रेले बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गरेर वालिङको शैक्षिक विकासमा लाग्ने उहाँको भनाई छ ।

Facebook Comments Box
TOP