फोहोर व्यपस्थापनमा आधुनिक प्रविद्धिको प्रयोग गर्दै तिलोत्तमा नगरपालिका ।

बुटवल :
फोहोरमैला व्यवस्थापन अधिकांश स्थानीय तहको प्रमुख चुनौतीको रुपमा रहेको छ । घर–घरबाट संकलन हुने र बजारमा यत्रतत्र फालिएका फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा सहरबजार दुर्गन्धित बन्ने गरेका छन् । तर, रूपन्देहीको तिलोत्तमा नगरपालिकाले भने सहज रुपमा फोहोर व्यवस्थापन गर्न सफल हुँदै आएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फोहोर संकलन र व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपी नेपाल र वास स्वास्थ्य सहकारी संस्थासँग सहकार्य गर्दै आएको छ । हरित तिलोत्तमा, सफा तिलोत्तमा भन्ने नाराका साथ पालिकाले फोहर व्यवस्थापनमा काम गरिरहेको छ ।
फोहर व्यवस्थापनमा नमुना कार्य गर्दै आएको नगरपालिकाले पछिल्लो समय अत्याधुनिक मेसनरी औजारबाट काम शुरु गरेको छ । फोहर व्यवस्थापनका लागि अत्याधुनिक औजारको प्रयोगसँगै फोहर व्यवस्थापनमा नमुना हुने नगरप्रमुख रामकृष्ण खाँणले बताउनु भयो ।
नगरपालिकाले ‘हरित पुनरुत्थान प्रवद्र्धन परियोजना’ अन्तरगत फोहोर संकलन, प्रशोधन तथा बिक्री गर्दै आएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि सुखौराखोलाको प्रशोधन केन्द्रमा निर्माण गरिएका भवन तथा मेसिनरी औजारहरुको नगरप्रमुख रामकृष्ण खाँण र युएनडिपी नेपालका लुम्विनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।


कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले फोहरलाई स्रोतको रुपमा प्रयोग गरी नगरपालिकाले अम्दानी गर्ने आफूहरुको योजना रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘सफा र स्वच्छ नगर बनाउने र फोहरबाट आर्थिक लाभ समेत लिने गरी पालिकाले योजना बनाएको छ ।’
सुखौराखोला क्षेत्रलाई तारबार गर्न तत्काल रकम छुट्टाएर बर्षा अगावै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका लुम्विनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले
फोहरलाई स्रोतको रुपमा प्रयोग गर्नु पर्ने बताउनु भयो । कुँहिने फोहरबाट प्राङ्गारिक मल बनाई उत्पादन बढाउने काम सहजै गर्न सकिने भन्दै अर्यालले मल्टीलियर प्लास्टिक मार्फत बिभिन्न सामाग्री बनाउन सकिने बताउनु भयो ।
प्रकृतिमैत्री क्रियाकलाप जरुरी रहेको भन्दै अर्यालले दिगो बिकासको स्थानीयकरणका लागि जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहनेमा जोड दिनुभयो ।
कसैलाई पनि पछाडी नछोड्ने दिगो विकास लक्ष्यको मूल मनसायलाई आत्मसात गर्नुपर्नेमा जोड दिदै अर्यालले दिगो बिकाश लक्ष्य प्राप्तिका लागि नगरपालिकामा शुरु भएको परियोजनालाई थप व्यवस्थित गर्न युएनडीपीले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा वास सहकारीका अध्यक्ष खेम प्रसाद गौतमले, प्रतिवेदन प्रस्तुत गर्दै फोहोर व्यवस्थान गर्दा हुने कठिनाई र जोखिमलाई मध्यनजर गर्दै प्रसोधन केन्द्रमा काम गर्ने सम्पूर्ण कर्मचारीको स्वास्थ्य बिमा गरिएको जानकारी दिनुभयो ।


कार्यक्रममा सैनामैना नगरपालिकाका मेयर फणिन्द्र शर्मा, तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी देवी चौधरी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे,राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही संयोजक झमबहादुर गुरुङ, नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरे, माओबादी केन्द्र रुपन्देहीका सदस्य हेमन्त पाण्डे, करहिया सामुदायिक बनका अध्यक्ष बाबुराम खनाल, ३६ मौजा सिंचाई प्रणालीका अध्यक्ष कृष्ण पौडेल, बुटवल सरसफाई एवं बातावरण संरक्षण समितिका अध्यक्ष टोपलाल शर्मा, तिलोत्तमा ८ का अध्यक्ष कृष्ण पौडेल, तिलोत्तमा १ का अधय्क्ष्य फर्सुराम गिरि, तिलोत्तमा १० का अधय्क्ष्य गोपाल घिमिरे, बासका सलाहकार एवं टोल बिकाश संजालका अधय्क्ष्य हेमराज पौडेल, दिलमाया राना, भरत बहादुर बिस्वकर्मा, हुमकान्त पाण्डे,डिल बहादुर भट्टराई लगायतले मन्तब्य दिनुभएको थियो । लेखा समिति संयोजक गणेश प्रसाद सुबेदीले लेख प्रतिबेदन प्रस्तुत गर्नुभएको कृष्ण बहादुर पुनको सञ्चालनमा भएको कार्यक्रममा बास सहकारीमा रहेर उत्कृृष्ट काम गर्ने कर्मचारी एवं सुभेच्चुक हरुलाई समान गरिएको थियो ।
कुहिने फोहोर घरमै व्यवस्थापन गरी प्रांगारिक र गड्यौला मल बनाउन सिकाएको सहकारीले नकुहिने फोहोरमात्रै संकलन गर्छ । घरघरमा कुहिने फोहोर व्यवस्थापन र नकुहिने संकलन हुन थालेपछि नगर सरसफाइयुक्त बन्दै गएको छ ।
फोहोर संकलन व्यवस्थापन तथा प्रशोधनमा तिलोत्तमा नगरपालिकाको १ करोड ७१ लाख ४० हजार , युएनडीपीको १ करोड ६३ लाख ९७ हजार र सहकारीको ५७ लाख ५० हजार गरी करिब ५ करोड लगानी भएको छ । यसरी संकलन हुने दैनिक ३ टन फोहोर मध्येको ९० प्रतिशत फोहोर पुर्नउपयोग गर्न सकिने प्रकृतिको रहेको सहकारीका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
वास स्वास्थ्य सहकारी संस्थाले घरदैलोको फोहोरसंगै नगरपालिकालाई खुला प्लास्टिक मुक्त गर्ने अभियान चलाएर सिाचाइका नहर, कुलो, खोला, पार्क, सार्वजनिक स्थान समेतलाई व्यवस्थित बनाउदै आएको छ ।

 

Facebook Comments Box
TOP