जनप्रतिनिधिहरु बोल्ने समय होइन, काम गर्ने समय हो : नगर प्रमुख खाँण

मणि प्रसाद अर्याल,
वालिङ :
जन प्रतिनिधिहरु बोल्ने समय होइन, काम गर्ने समय भएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनु भएको छ । वालिङमा आयोजित भू—उपयोग तथा योजना तर्जुमा सम्बन्धी दुइदिने कार्यशाला गोष्ठीको मंगलबार समापन गर्दै नगर प्रमुख खाँणले भन्नुभयो,‘जन प्रतिनिधिहरु बोल्ने समय होईन काम गर्ने समय हो ।’
वालिङ नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू—उपयोग योजना नियमावली तथा भवन मापदण्ड कार्यान्वयन एवम् योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी नगरलाई अगाडि बढाउन मार्गदर्शक भएको उहाँले बताउनुभयो । नगरक्षेत्रका जग्गाको वर्गीकरणको काम सम्पन्न गरेपछि जानकारी गराउने र भू—उपयोग कसरी गर्ने भन्ने सुझाव लिने उद्देश्यले आयोजित कार्यशाला गोष्ठी फलदायी भएको उहाँले औंल्याउनुभयो ।
नीतिगत कुरा र कार्यान्वयन पक्ष दुबै महत्वपूर्ण रहन्छ तर नीतिगत कुराले कतिपय काम गर्न समस्या पारेको नगर प्रमुख खाँणले बताउनुभयो ।


चल र अचल गरी दुई किसिमका सम्पत्ति हुन्छन्, त्यसमध्ये जनप्रतिनिधि तथा समाजसेवीहरु चल सम्पत्ति भएको नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो । यो चल सम्पत्तिले भरपूर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सबै मिलेर काम गर्नुपर्ने भन्दै आँफूले अरुलाई पछाडि राखेर होइन, अगाडि लगाएर काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो—“म अरुलाई पछाडि राखेर होइन अगाडि लगाएर र सबैसँग सल्लाह गरेर काम गर्ने छु ।”
कृषि उत्पादनमा जोडदिनुपर्ने सहभागीहरुको सुझाव सह्रानीय भएको उल्लेख गर्दै नगर प्रमुख खाँणले आगामी दिनमा उत्पादनका आधारमा अनुदान प्रदान गरिनेसमेत बताउनुभयो । उहाँले वैशाख १ गतेपछि कित्ताकाटको काम सुरु गरिने समेत जानकारी गराउनुभयो ।


समापन कार्यक्रममा नेपाली काँग्रेसका नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका यामकान्त खनाल, माओवादी केन्द्रका कल्पना अर्याल, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रे, नेकपा एकिकृत समाजवादीका जगदिशप्रसाद गैह्रे, राप्रपाका सागर गैह्रे, रास्वपाका मेघ आले, पत्रकार महासँग स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल,युएनडिपिका प्रतिनिधि वर्षा चित्रकार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यशाला गोष्ठीमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कृषि क्षेत्र र आवासीय जग्गाको मूल्याङ्नमा समानता हुन नसक्दा नागरिकहरु समस्यामा परेको धारणा सहभागीहरुले राखेका थिए ।
नगर प्रमुख कृष्ण खाँणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी माधव न्यौपानेले गर्नुभएको थियो ।
वालिङ नगरपालिकाले युएनडिपी नेपालको प्राविधिक सहयोगमा गोष्ठीको आयोजना गरिएको हो ।

 

Facebook Comments Box
TOP