स्याङ्जा २ मा सुरु भएन मतगणना, कांग्रेस–एमाले धर्नामा

वालिङ, मङ्सिर ६ गते । स्याङ्जा क्षेत्र नं. २ को मतगणना मङ्गलबार अबेरसम्म सुरु हुन सकेको छैन । चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले) ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै धर्ना बसेको छ ।

चापाकोट नगरपालिका वडा ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदलाय, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना रोकेको छ । एमालेको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले पनि साथ दिँदैआएका छन् । राप्रपाले मतगणना हुनुपर्ने जनाएको छ । एमालेले  निर्वाचन आयोगमा उजुरी दिएको छ ।

एमालेका उम्मेदवार पद्मा अर्यालले गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर डर धम्की देखाएर मतपत्र कब्जा गरेको आरोप लगाउनुभयो । कब्जा गरिएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको उहाँले दावी गर्नुभयो ।

रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै मंगलबार कांग्रेसले नाराबाजी गरेको छ । कांग्रेस उम्मेदवार धनराज गुरुङसहित कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना बस्नुभएको छ । मतगणना प्रक्रिया तत्काल अगाडि बढाउन उहाँहरुले माग गर्नुभएको छ ।

एमाले धर्ना तथा बिरोध कार्यक्रम गर्दै ।

मतगणना तत्काल सुरु नगरे आन्दोलनका थप कार्यक्रम गरिने स्याङ्जा कांग्रेसले चेतावनी दिएको छ । सबै माग निर्वाचन अयोग समक्ष राखेको बताउँदै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुुर क्षेत्रीले निर्वाचन आयोगको आवश्यक निर्णय आएपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शीलबन्दी गरिएका मतपेटिका सुरक्षित राखेका छौं, मतदान शान्तपूर्ण भएको रिपोर्ट हामी समक्ष छ, अब निर्वाचन आयोगले जे भन्छ त्यसरी नै अगाडि बढ्छ ।’

निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको एक गेटमा एमाले र अर्काे गेटमा कांग्रेसले दिनभर बिरोध कार्यक्रमसहित धर्ना दिएका छन् । दुवै दललाई एकापसमा भेट हुन नदिन प्रशासनले सुरक्षामा कडाइ गरेको छ । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेबाट पद्मा अर्याल र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार रहनुभएको छ । गोरखापत्र अनलाईन

नेपाली काँंग्रेस धर्ना तथा बिरोध कार्यक्रम गर्दै ।
नेपाली काँंग्रेस धर्ना तथा बिरोध कार्यक्रम गर्दै ।
Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP