आफनो उम्मेदवारी निस्क्रिय पार्दै कांग्रेसलाई समर्थन गर्ने पौडेल र पोखरेलको घोषणा

भवानी अधिकारी/स्याङ्जा

स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराएका नेपाली कांग्रेस (वी.पी.) तर्फका उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफनो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन्।

प्रजातान्त्रिक समाजवादको आर्दश र मूल्यमान्यताबाट मात्र मुलुकको सामाजिक तथा आर्थिक परिवर्तन हुन सम्भव भएको जनाउदै नेपाली कांग्रेसतर्फका संघीय उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गर्ने प्रतिवद्धता जनाउदै उम्मेदवारी निस्क्रिय बनाएको जनाएका छन्।

पौडेलसंगै प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफनो उम्मेदवार निस्क्रिय पारेको जनाउदै थापा र रानालाई समर्थन गर्ने जनाएका छन्।

पौडेल र पोखरेल दुबैले आइतवार छुट्टाछुट्टै प्रेस बिज्ञप्ति प्रकाशितगरी आ आफना उम्मेदवारी निस्क्रिय बनाएको घोषणासंगै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन।

आँधीखोला गाउँपालिका निवारी प्रदीप पौडेल २०२५ सालदेखि नेपाल बिद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा आजसम्म क्रियाशिल छन्। उनी २०२९ सालमा पृथ्वीनारायण क्याम्पसमा भएको स्वीवियू निर्वाचनमा निर्वाचित हुने पहिलो सचिव भएका थिए भने पञ्चायतीकालमा निरंकुशता बिरुद्धको आन्दोलनमा पटक पटक यातना सहित शिक्षकबाट समेत निलम्बनका परे।

स्याङ्जा कांग्रेसका अग्रज नेता, बलियो शालिन नेतामा उनी गनिन्छन्। राजनीतिक परिवर्तनका बिभिन्न आन्दोलनमा कांग्रेसका तर्फबाट उनको सक्रिय भूमिका रहदै आएको छ।

यसैगरी, २०३७ सालदेखि नेपाल बिद्यार्थी संघगठनबाट राजनीतिमा लागेका पोखरेल निवृत्त राष्ट्रसेवक हुन। राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध भई प्रजातन्त्रको पक्षमा बकालत गर्न नेपाली कांग्रेबाट मात्र सम्भव भएको जनाउदै समानुपातिकतर्फमा सूचिकृत आफनो उम्मेदवारी निस्क्रिय बनाउदै कांग्रेसका पक्षमा उभिएको जनाए।

नेपाली कांग्रेस (वीपी) का उम्मेदवारले आफनो उम्मेदवारी निस्क्रिय बनाएसंगै अब स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को एक पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पाटी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी समाजवादी, मंगोल नेशनल अर्गानाईजेशन, जनसमाजवादी पाटी नेपाल गरी ११ जना चुनावी प्रतिस्पर्धामा छन्।

यसअघि १५ जनाले उम्म्ेदवारी दर्ता गराएका थिए। ती मध्ये दुई स्वतन्त्र र नेकपा एकिकृत समाजवादीले तोकिएको समयमा उम्मेदवारी फिर्ता लिइसकेका छन भने नेपाली कांग्रेस (वीपी) अहिले निस्क्रिय बनाएको छ।

Facebook Comments Box
TOP