स्याङ्जाको गल्याङमा गरिएको नमूना मतदानमा १० प्रतिशत मत बदर

गल्याङ :
स्याङ्जाको गल्याङबजारमा गरिएको नमूना मतदानको क्रममा १० प्रतिशत मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले गरेको नमूना मतदानको क्रममा १० प्रतिशत मत बदर भएको हो ।
गल्याङ नगरपालिकाको सिटी हल प्राङ्गणमा भएको नमूना मतदानको क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो । जम्मा ४५ जनाले गरेको मदतानमा १० प्रतिशत मत बदर भएको गल्याङ नगरपालिका प्रशासन शाखा प्रमुख दशरथ उपाध्यायले जानकारी दिनुभयो ।
कर्मचारी तथा जनप्रतिनिधिले गरेको मतदानमा नै १० प्रतिशत मत बदर भएपछि यस पटक मत बदरको संख्या बढ्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले भने यस पटक मत बदरको संख्या शुन्यमा झार्ने भन्दै मतदाता शिक्षालाई जोड दिइरहेको बताएको छ ।
यसअघि निर्वाचन कार्यालयले सोमबार नै कालिगण्डकी गाउँपालिकामा नमूना मतदान गरेको बताइएको छ ।
यसैबीच, जिल्ला निर्वाचन कार्यालयले नमूना मतदानको क्रममा सञ्चारकर्मीलाई निषेध गरेको छ ।
कार्यालयले गरेको नमूना मतदानमा पत्रकारलाई आमन्त्रण नगरेको बुझिएको छ । जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले पत्रकारलाई निमन्त्रणा नगर्ने कार्यालयको नियत नभएको दावी गर्दै समन्वयको अभाव भएको स्विकार गर्नुभयो । अन्य ठाउँहरुमा हुने नमूना मतदानको क्रममा पत्रकारलाई निमन्त्रणा गर्ने र सूचना दिने गर्ने गरिएको छ ।

Facebook Comments Box
TOP