लोकतान्त्रिक वाम गठबन्धनलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल

Deuba_Dahal_Nepal_KC_

काठमाडौं, मङ्सिर १ गते :

सत्ता गठबन्धन दलले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेको छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपिल जारी गर्नुहुँदै संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई अतदान गरेर जिताउन अपिल गर्नुभएको हो ।

संयुक्त अपिलमा निर्वाचनले विघटनकारी तथा प्रतिगमनका पक्षधरको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने आह्वान गरिएको छ ।

अपिलमा लेखिएको छ, ‘‘हाम्रा सङ्कल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन् । यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठबन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन । गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरूप राजनीतिक स्थायित्व दिने हो ।’’

त्यस्तै, प्रतिगमनको खतरा अझै नटरेको भन्दै गठबन्धन दलले बहुमत नपाए फेरि पनि त्यही प्रवृत्तिको पुनरागमन हुन सक्ने अपिलमा उल्लेख छ ।

‘‘देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लङ्घन गरी दुई–दुई पटक गरेको प्रतिनिधिसभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ । यो गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन् । झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको छ ।’’

Facebook Comments Box
TOP