असोज १९ देखि कोखे महोत्सव

वालिङ :
वालिङको पर्यटकीय स्थल सिर्सेकोट तथा कोखेको प्रबर्धन गर्न कोखे महोत्सव गरिने भएको छ । ग्रामिण पर्यटनलाई चिनाउन यही असोज १९ देखि महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक भविराज गुरुङले वालिङमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराए । यहाँबाट धेरै हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । त्यस्तै दक्षिणतर्फ होचिंदै गएका रमणीय डाँडाकाँडा एवं आँधिखोलाले बनाएका समतल फाँट नियाल्न सकिन्छ । यहाँबाट देख्न सकिने सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्तै मनमोहक हुने गुरुङले बताए ।
आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाईने स्थानीय बासिन्दासमेत रहेका गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । धार्मिक तथा प्राकृतिक विशेषतायुक्त कोखेलाई पर्यटकीयस्थलको रुपमा स्थापित गराई आन्तरिक र वाह्य पर्यटक प्रवर्धन गर्न यस महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक गुरुङले बताए । कोखेको पर्यटकीय महत्वलाई प्रवर्धन गर्न सके समग्र नगरपालिकाको आर्थिक र सामाजिक संमृद्धि हासिल गर्न सकिने उनको दावी छ ।

महोत्सवले वालिङको वडा नं. १२ मा रहेका संभावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुटी आदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रचार, प्रसार, विक्रि एवं प्रवर्धन गर्न साझा, औपचारिक एवं अल्पकालिन वजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा गरिएको रहनसहनको अवलोकन गराउने, भलिबल खेल मार्फत यस क्षेत्रलाई चिनाउने उद्देश्य लिएको गुरुङले बताए । ६ दिनसम्म चल्ने महोत्सवमा १० हजार पर्यटक भित्राउने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सवका मुख्य आकर्षणहरुमा स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ तथा कृषिजन्य बस्तुहरुको प्रदर्शनी, गाउँपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोगितात्मक प्रर्दशनी, कृषिजन्य उत्पादनको प्रदर्शनी, क्लबस्तरीय खुला भलिबल प्रतियोगिता, वडाभित्रका ३८ बर्षभन्दा माथिको उमेरको लागि भेन्ट्रास भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता लगायत रहेका छन् । महोत्सवमा आउनेहरुलाई मौलिक पहिचान सहितको सोरठी, रेलीमै लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा रमाउने ब्यवस्था गरिएको संयोजक गुरुङले बताए ।
मेलामा वडा भित्रका जातजातिका विविधताको प्रदर्शन, हरेक दिन राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु विच दोहोरी गीत कार्यक्रम र अन्य प्रस्तुतिहरु रहने छन् । बाहिरबाट आउने आन्तरिक एवं वाह्य पर्यटकका लागि त्यहाँ संचालित सामुदायिक होमस्टेमा बस्नको लागि प्रबन्ध मिलाईएको आयोजकले जनाएको छ । यो सँगै १ लाख १ हजार राशिको प्रथम पुरस्कार, ६० हजार राशिको दाश्रो पुरस्कार, ३० हजार राशिको तेश्रो पुरस्कार तथा १५ हजार राशिको चौथो पुरस्कार सहितको भलिबल प्रतियोगिता महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको छ ।

Facebook Comments Box
TOP