ग्रामीण क्षेत्रको विकासबाट समृद्धि खोज्नुपर्छ–नगरप्रमुख खाँण

असार ६,वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले गाउँको विकासबाट समृद्धि खोज्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याङ्जाले आयोजना गरेको व्यवसायिक भैँसीपालन सम्बन्धी तालिमको समापन समारोहमा बोल्दै नगरप्रमुख खाँणले शहरमा पाइने सम्पूर्ण सेवा सुविधाहरु गाउँमा उपलब्ध गराउन सकेमात्र विकासको गोरेटो कोरिएको आँकलन गर्न सकिने बताउनुभयो ।
ग्रामिण क्षेत्रको विकास गर्न गाउँमै शिक्षा,स्वास्थ्य तथा रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले गाउँमा रोजगारी सिर्जनाको भरपर्दो उपाय कृषि तथा पशुपालन भएको स्पष्ट पार्दै उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने योजना बनाएर नगरले काम गर्ने बताउनुभयो ।
पहाडी भुगोल भएको क्षेत्रमा पशुपालन नै आर्थिक समृद्धिको पाटो भएको उल्लेख गर्दै नगरप्रमुख खाँणले तीन ओटै तहको सरकारले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भैँसीपलान जोनका संयोजक पुण्य अर्यालले वालिङ,गल्याङ र भीरकोट नगरपालिकालाई डेरी जोनका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वालिङका दूध उत्पादक किसानहरुले उत्पादन गरेको दुधबाट उत्पादित छुर्पी अमेरिकी बजारमा निर्यात भैरहेको स्मरण गर्दै अर्यालले दूध उत्पादक किसानहरुको लागि सहज वातावरणमा अनुदान तथा प्रयोगशालाको स्थापना गर्न नगरपालिकाले व्यवस्था गर्न आग्रह गर्नुभयो ।
पशु उपचारको लागि प्रयोगशाला ,सहुलियत ब्याजदरमा ऋणको व्यवस्था,बजारीकरणको प्रत्याभुती गर्नुपर्ने लगायतका माग सहितको ज्ञापनपत्र दिदै जोन संयोजक अर्यालले किसानका मागहरुलाई अथाशीघ्र संबोधन गर्न अनुरोध गर्नुभयो ।
तीन दिनसम्म चलेको तालिममा गल्याङ,भीरकोट र वालिङ नगरपालिका करिब ३० जना व्यवसायिक भैँसीपालक किसानहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP